कुलदीप र रिसभ भारतीय टेस्ट टोलीमा

बाँया हाते स्पिनर कुलदीप यादव र विकेटकिपर ब्याट्म्यान रिसभ पन्तले भारतीय टेस्ट टोलीमा स्थान बनाएका छन् । इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले इंग्ल्यान्डविरूद्ध ५ टेस्ट खेल्ने छ । रिसभ पहिलो पटक भारतको टेस्ट टिममा परेका हुन् भने कुलदिपले मार्च २०१७ मा धर्मशालामा अष्ट्रेलियाविरुद्धको टेस्टमा डेब्यू गरेका थिए ।

टि–२० र एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका रिसभ र भारतका लागि २ टेस्ट खेलिसकेका कुलदीपले इंग्ल्यान्डविरुद्धको पहिलो तीन टेस्टमा सहभगाीता जनाउने छन् । उनीहरुसँगै टेस्ट टोलीमा विराट कोहली (कप्तान), अजिन्का राहाणे (उपकप्तान), शिखर धवन, लोकेश राहुल, मुरली विजय, चेतेश्वर पुजारा, करून नायर, दिनेश कार्तिक, रविचन्द्रन आश्विन, रविन्द्र जडेजाले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजमा स्थान बनाएका छन् । त्यसैगरी हार्दिक पाण्ड्या, इशान्त शर्मा, मोहम्मद सामी, उमेश यादव, जसप्रित बुम्राह र सार्दुल ठाकुर पनि टोलीमा सामेल छन् ।

२३ वर्षे कुलदीपले यसअघि अष्ट्रेलिया र श्रीलंकाविरुद्धको टेस्टमा भारतको प्रतिनिधित्व गरिसकेका छन् । कुलदीपले २ टेस्टमा ९ विकेट लिएका छन् । इङ्ल्यान्डविरुद्धको पहिलो टि–२० मा ५ विकेट र ट्रेन्ट ब्रिजमा भएको एकदिवसियमा कुलदीपले ६ विकेट लिन सफल भएका थिए । २०१८ को आईपिएलमा उत्कृष्ट प्रदर्शन गरेका पन्तले ४ टि–२० खेलमा भारतको प्रतिनिधित्व गरेका छन् । ४ खेलमा उनले ७३ रन बनाएका छन् । उनी टेस्ट टिममा भने पहिलो पटक परेका हुन् ।

तर, बलर भुवनेश्वर कुमारले भने इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाएका छन् । तेस्रो एकदिवसीय खेलका क्रममा घाइते भएपछि उनले इंग्ल्यान्डविरुद्धको टेस्ट गुमाएका हुन् । त्यस्तै चेतेश्वर पुजारा र जसप्रित बुम्राह भने ५ मध्ये तीन टेस्टका लागि टोलीमा समेटिएका छन् । भारत र इङल्यान्डबीचको पहिलो टेस्ट अगस्ट १ मा सुरु हुँदैछ ।