सन्दीप पुनः विकेटबिहीन, हुरिकेन्सको फराकिलो हार

अस्ट्रेलियामा बिग बास लिग खेलिरहको नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने पुनः एकपटक विकेटबिहीन बनेका छन्। सोमबार भएको खेलमा सन्दीप महँगो सावित हुँदा उनको टिम होबर्ट हुरिकेन्स पर्थ स्कोचर्ससँग ४२ रनको फराकिलो अन्तरले पराजित भयो।

प्रतियोगितामा विकेटका लागि संघर्ष गरिरहेका सन्दीपले ४ खेलमा २ विकेट मात्र लिएका छन् । पर्थ स्कोचर्सविरुद्ध महँगो सावित भएका सन्दीपले ४ ओभरमा ४० खर्चिका थिए ।

पहिला ब्याटिङ गर्दै स्कोचर्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको हुरिकेन्सले २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो । उसका लागि विल पार्करले सर्वाधिक ३० रन बनाउँदा नाथन इलिसले २० रन बनाए ।

१०औं नम्बरमा ब्याटिङका लागि आएका सन्दीपले ८ बलमा नटआउट ९ रन बनाए। हुरिकेन्सलाई सस्तैमा समेट्ने क्रममा स्कोचर्सका एन्ड्रयु टाइले ३ तथा एस्टन अगर र पिटर हाटजोलुले समान २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको स्कोचर्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाए। उसका लागि कर्टिस प्याट्रिसनले सार्वधिक ७८ रन बनाए । उनले ४८ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। यस्तै, एस्टन अगरले ३० र मिचेल मार्सले २१ रनको योगदान दिए । हुरिकेन्सका जोर्डन थम्पसनले ३ तथा टम रोजर्सले २ विकेट लिए।

४ खेलमा १ जितसहित ६ अंक जोडेको हुरिकेन्स छैठौं स्थानमा छ । चारै खेलमा जित निकालेको पर्थ १४ अंकसहित शीर्ष स्थानमा छ।