स्पेनिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिँदा बार्सिलोना पराजित भएको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिँदा बार्सिलोना रायो भालेकानोसँग १–०ले पराजित भयो।
स्टेडियो सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा ओसासुनालाई बल पोसेसनमा दबाबमा राखेपनि फिनिसिङमा चुक्दा रियल बराबरीमा रोकिन बाध्य बन्यो। रियलले ७५ प्रतिशत बल पोजेसन बनाउँदै १७ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो । यता, ओसासुनाले ७ सट प्रहार गर्दा कुनैपनि सट फ्रेममा थिएन।
यसैगरी अर्को खेलमा खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० ले पराजित भएको छ। बार्सिलोनालाई स्तब्ध पार्न पहिलो हाफमा राडामेल फल्काओको गोल नै निर्णायक बन्यो। उनले ३०औं मिनेटमा गोल गरेका थिए।
बार्सिलोनाको यो लगातार दोस्रो हार हो। यसअघि बार्सिलोनाले रियल म्याड्रिडसँग २–१ को हार बेहोरेको थियो।
बराबरीपछि रियल १० खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। समान २१ अंक नै रहेपनि सेभिया, रियल बेटिस र रियल सोसिडाड शीर्ष चारमा छन्। ओसासुना १९ अंक जोडेर छैटौं स्थानमा छ। बार्सिलोना भने १० खेलबाट १५ अंक जोडेर नवौं स्थानमा यथावत रहँदा रायो भालेकानो ११ खेलबाट १९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।