विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका स्पेनिस क्लब रियल मड्रिडका सम्पूर्ण खेलाडी क्वारेन्टाइनमा बसेपछि स्पेनिस फुटबल फेडेरेसनले ला लिगा २ साताका लागि स्थागित गर्ने निर्णय गरेको छ ।
रियल मड्रिड क्वारेन्टाइनमा जानु परेको र अन्य खेलाडीमा समेत कोरोना पोजिटिभ हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ला लिगाका दुई साता स्थगित गरिएको हो । ला लिगाले स्पानिस फुटबल फेडेरेसनसँगको छलफलपछि दुई सातालाई खेल स्थगित गरेको हो ।
कोरोनाकै कारण रियल मड्रिडले आफ्ना सम्पूर्ण खेलाडीसहित स्टाफहरुलाई क्वारेन्टाइनमा राखेको छ । रियलकै बास्केटबल खेलाडीमा कोरोना संक्रमण देखिएपछि क्लबका सम्पूपर्ण सदस्यहरुलाई क्वारेन्टाइनमा राखेको हो ।
रियलका सम्पूर्ण खेलाडी क्वारेन्टाइनमा रहेकाले च्याम्पियन्स लिगअन्तर्गतको अन्तिम १६को रियल र म्यान्चेस्टर सिटीबीचको दोस्रो लेगमा स्थगित हुने सम्भावना बढेको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व फुटबल नै प्रभावित भएको छ । कोरोनाकै कारण विश्वकप फुटबलको एसियाका सम्पूर्ण छनोट खेल स्थगित भइसकेका छन् भने युरोपियन फुटबल एसोसिएसनले पनि युरोपा लिग र च्याम्पियन्स लिग बन्द रंगशालामा खेलाइरहेको छ ।
यसैगरी इटाली सरकारले ३ मार्चसम्मका लागि सम्पूर्ण फुबटबल गतिविधि बन्द गरेको छ । यस्तै बुन्डेसलिगा, लिग वानका खेल पनि बन्द रंगशालामा खेलाइएको छ ।