मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) सहयोग गर्ने भएको छ । सिप्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै ललितको उपचारमा सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
क्रिकटर भण्डारीको अहिले ग्राण्डी हस्पिटल काठमाडौंमा उपचार भइरहेको छ । हिजो मात्रै नेपाल क्रिकेट संघ (क्यान)ले हेलिकोप्टर चार्डर्ड गरेर ललितलाई काठमामाडौं ल्याएको थियो ।
आइतबार कञ्चनपुरको झलारीमा ट्रकले ठक्कर दिँदा उनी घाइते भएका थिए । त्यसपछि धनगढीको निसर्ग हस्पिटलमा उपचारपछि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको थियो । भण्डारीको हात र खुट्टाको अप्रेशन गर्नुपर्ने छ भने कलेजोमा पनि चोट लागेको बताएको छ।

सिप्यानले बलर ललितको सहयोगका लागि पहलकदमी लिने जानकारी गराएको छ र सिप्यानसँग हातेमालो गर्दै सहयोग गर्न सम्पूर्णलाई अपिल पनि गरेको छ । सहयोग गर्न चाहनेले सिप्यानको पुलतीसडकस्थित सेन्चुरी कमर्सियल बैंक लिमिटेडको खाता नम्बर ००१०००२५२९ सीएमा रकम जम्मा गराउन सक्ने सिप्यानले जनाएको छ ।
यस्तै राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द मल्लले ललितको उपचारमा आफ्ना् र टिमका तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् । यस्तै, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि ललितको उपचारमा क्यानका तर्फबाट सहयोग र समन्वय गर्ने बताएका छन् ।