नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारी सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै ललित सवार मोटरसाइकललाई झलारीमा ट्रिपर ठक्कर दिएको थियो ।
भण्डारी सवार म२प ४७०५ नम्बरको मोटरसाइकललाई से१ख १३२४ नम्बरको ट्रकले साँझ ८ बजेतिर ठक्कर झलारीमा दिएको प्रहरीले जाएको छ । ट्रिपरको ठक्करबाट फास्ट बलर भण्डारी गम्भीर घाइते भएको प्रहरीले जनाएको ।
प्रहरीका अनुसार मोटरसाइकलमै सवार भण्डारीका साथी करण ठगुन्ना पनि घाइते भएका छन् । उनी भने सामान्य घाइते छ । झलारीका क्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि भण्डारीलाई धनगढी लगिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परि घाईते भएका भण्डारीको दायाँ हातको कुममा चोट लागेको छ । यस्तै उनको हात पनि भाँचिएको छ । उनको टाउको र छातीमा पनि गम्भीर चोट देखिएको छ ।
इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले ठगुन्ना खतरा मुक्त रहेपनि भण्डारीको अवस्था चिन्ताजनक रहेको बताएका छन् । उनका अनुसार झलारीस्थित शुक्लाफाटा क्लिनीकमा उपचार हुन नसकेपछि धनगढीको निसर्ग अस्पताल लगिएको छ । भण्डारीको टाउको र छातीभित्र चोट देखिएपछि निसर्गले न्युरो सर्जन नभएको भन्दै कोहलपुर शिक्षण अस्पताल रिफर गरेको रावलले जानकारी दिए ।
भण्डारीले नेपालका लागि १ एकदिवसीय, १ टि–२० आई र ३ लिस्ट ए म्याच खेलेका छन् ।