सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी दोस्रो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी२० क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ। शनिबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।
१ सय २९ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९० रनमा समेटियो। लुम्बिनीकी नेरी थापाले सर्वाधिक २३ रन बनाइन्। उनले ३८ बलमा २ चौका प्रहार गरिन्। यता, ओपनर आस्मा पुलामी मगर २२ रनमा आउट भइन्।
लक्ष्मी चौधरी १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। सुदूरपश्चिकी तीव्र गतिकी बलर कविता कुँवरले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिइन्। यता, स्पिनर सम्झना खड्काले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन्।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो।सुदूरपश्चिमकी सम्झना खड्काले सर्वाधिक ४२ रन बनाइन्। उनले ४८ बलमा ५ चौका प्रहार गरिन्। यता, ऋतु कनोजियाले ३४ बलमा ४ चौकासहित ३३ रन बनाइन्।
तल्लोक्रमकी कविता जोशी ३२ रनमा आउट भइन्। यस्तै, कविता कुँवरले १० रन जोडिन्। लुम्बिनीकी नेरी थापाले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिइन्।
विभागीय टोली नेपाल एपीएफ क्लब ३ खेलमा ३ जितसहित फाइनलमा पुगिसकेको छ। आइतबार लिगका अन्तिम खेल हुनेछन्। प्रदेश १ र ललितपुर मेयर्स–११ तथा दोस्रो खेलमा लुम्बिनी र एपीएफबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल सोमबार हुनेछ।