नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य नेरी थापाले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिक लिएपछि ललितपुर मेयर्स टि–२० क्रिकेट च्याम्पियन्सिपमा लुम्बिनी प्रदेश विजयी भएको छ। बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएएको खेलमा लुम्बिनीले आयोजक ललितपुर मेयर्समाथि २ रनको रोमाञ्चक जित निकाल्यो।
९५ रनको सामान्य लक्ष्य पछ्याएको ललितपुरलाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो । तर, नेरीले दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिएपछि ललितपुरले ९ विकेटको क्षतिमा ९२ रन मात्र बनाउन सक्यो ।
ललितपुरका लागि कञ्चन श्रेष्ठले २२, अस्मिना कर्माचार्यले २०, साना प्रविनले १२ र सुमन अतिवडाले ११ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन्।
घातक बलिङ गरेकी नेरीले ४ ओभरमा १ मेडनसहित ८ रनमात्र खर्चेर ४ विकेट लिए। यस्तै, कृतिका मरासिनीले ३ तथा सुस्मिता भुसालले २ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले ४ विकेटको क्षतिमा ९४ रन बनायो । उसका लागि कप्तान सरस्वती घर्तिमगरले सर्वाधिक ३१ रन बनाउँदा सरस्वती पुनले २० र नेरी थापाले १५ रनको योगदान दिइन् । ललितपुरका सुमन खतिवाडाले ३ विकेट लिइन्।