लामा टेन्डी स्मृति बास्केटबलको उपाधि आर्मी र पुलिसलाई

लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ । राखेपको कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले टाइम्सलाई ९०/५८ ले सहजै पराजित गर्‍यो ।

आर्मीको जितमा आयुश सिंहले सर्वाधिक २६ अंक योगदान गरे । टाइम्सका सदीश प्रधानले १७ स्कोर गरे । सहज जित हात पार्ने क्रममा आर्मीले चारै क्वाटरमा अग्रता बनायो । आर्मीले क्रमशः २२/१०, २४/२०, १७/१६ र २७/१२ ले जितेको हो ।

त्यस्तै महिलातर्फ नेपाल प्रहरी च्याम्पियन बने । महिलाको रोमाञ्चक फाइनलमा अनुषा मल्लको १९ अंक सहयोगमा प्रहरीले रोयल बास्केटबल एकेडेमीलाई ५२/४९ ले हरायो ।

प्रहरीले उपाधिसँगै राउन्ड रोविन लिगमा रोयलसँग व्यहोरेको हारको बदला पनि लियो । राउन्ड रोविन लिगमा रोयल विजेता तथा प्रहरी उपविजेता बन्दै उपाधि भिडन्त पक्का गरेका थिए । रोयलकी रोशनी श्रेष्ठले १४ अंक जोडिन् ।

पहिलो क्वाटरमा दुवैले ८/८ को बराबरी खेले । प्रहरी दोश्रोमा २०/१५ र तेश्रोमा १४/११ ले अघि रहँदै जितको आधार खडा गरेको थियो । चौथो तथा अन्तिम क्वाटरमा रोयलले १५/१० को अग्रता लिए पनि जितका लागि पर्याप्त भएन ।

पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार पाए । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन तथा महिलामा प्रहरीकी अनुषा मल्ल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार हात पारे ।

पुरुषमा रोयलका सुदीप पौडेल क्षेत्री तथा महिलामा रुपन्देहीकी दीपिका गुरुङ उदीयमान खेलाडी चुनिए ।