बक्सिङ डेमा घरमै हार्‍यो चेल्सी

‘बक्सिङ डे’ अर्थात वर्षको अन्तिम खेलमा लन्डन क्लब चेल्सी घरेलु मैदानमै पराजित भएको छ । बिहीबार राति भएको खेलमा चेल्सी साउथह्याम्टनसँग २–०ले पराजित भएको हो ।

यो हारसँगै चेल्सीले तेस्रो स्थानको म्यान्चेस्टर सिटीसँगको दुरी घटाउने अवसर गुमायो । १९ खेलमा १० जित, २ बराबरी र ७ हारका साथ चेल्सीले ३२ अंक जोड्दै चौथो स्थानमा छन् । ४९ अंकका साथ लिभरपुल शीर्ष स्थानमा छ भने ३९ अंक जोडेको लेसेस्टर दोस्रो र ३८ अंकका साथ सिटी तेस्रो स्थानमा छन् । जितका साथ साउथह्याम्पटन भने २१ अंकका साथ १४औं स्थानमा उक्लियो ।

साउथह्याम्पटलाई जित दिलाउने क्रममा मिसाइल ओवाफेमी र नाथम रेडमुन्डले गोल गरे । साउथह्याम्पटनले दुवै हाफमा समान १ गोल गरेको थियो । ३१औं मिनेटमा ओवाफेमीका गोलमा साउथह्याम्पटनले अग्रता लिएको थियो भने ७३औं मिनेटमा रेडमुन्डले गोल गरेपछि चेल्सी २–०ले स्तब्ध भयो ।

बिहीबार नै भएका अर्को खेलमा टोटनह्यामले ब्राइनटलाई २–१ले हरायो । १–० ले पछि परेको अवस्थामा ह्यारी केन र डेले अलीले गोल गरे । ब्राइटनका एडम वेबस्टरले खेलको सुरुवातमै गोल गरेका थिए ।

यसैगरी आर्सनलन भने बोर्नेमाउथसँग १–१ गोलको बराबरीमा रोकियो । मिकेल अर्टेटा मुख्यप्रशिक्षकका रुपमा पहिलो खेलमा जित निकाल्न असफल भयो । उनी अघिल्लो साता आर्सनलको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । आर्सनलका लागि पिर्रे अमेरिक औबामियाङले गोल गर्दा बोर्नेमाउथका डान गोस्लिनले गोल गरेका थिए ।

यसैगरी बिहीबार नै भएका अन्य खेलमा एस्टनभिल्लाले नर्विच सिटीलाई १–०ले पराजित गरेको छ भने क्रिस्टल प्यालेसले वेस्टह्यामलाई २–१ हरायो । यस्तै, कार्लो एन्सोलोटीले पहिलो खेलमै एभर्टनलाई जित दिलाए । अघिल्लो सातामा मात्र एभर्टन आएका एन्सोलोटीको टिमले बर्नेलीलाई १–०ले हरायो ।