इंग्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुल लेस्टर सिटीसँग पराजित भएको छ। फरवार्ड मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्न नसक्दा लिभरपुल पराजित भएको हो।
घरेलु टोली लेस्टरसँग लिभरपुल १–० ले स्पराजित भयो। लेस्टरका सब्सिच्युट फरवार्ड एडेमोला लुकमनले गरेको गोल नै खेलमा निर्णायक बन्यो। उनले खेलको ५९औं मिनेटमा गोल गरेका थिए।
किङ पावर स्टेडियममा मंगलबार राति सम्पन्न खेलको १६औं मिनेटमा मोहम्मद सलाह पेनाल्टीमा चुकेका थिए। उनको प्रहारलाई गोलरक्षक कास्पर स्माइकले बचाएका थिए भने रिवाउन्डको उनको हेडर बारमा लागेर फर्किएको थियो।
एडेमोला लुकमनले काइरनान डिउसवुरी हलले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। उनी मैदान प्रवेश गरेको चौथो मिनेटमा नै गोल गर्न सफल भएका थिए।
हारसँगै लिभरपुल शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ६ अंकले पछि परेको छ। लिभरपुलको ४१ तथा सिटीको ४७ अंक छ। लेस्टर भने २५ अंकका साथ नवौं स्थानमा उक्लिएको छ।