इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ। अन्तिम १६को दोस्रो लेगमा फ्रेन्च क्लब लिलेलाई २–१ले हराउँदै समग्रमा ४–१को जितसहित चेल्सी क्वार्टरफाइनल प्रवेश गरेको हो।
खेलमा चेल्सीमा क्रिस्टियन पुलिसिच र कप्तान सिजर एजप्लिक्वेटाले गोल गरे भने लिलेका बुराक यिलमाज गोल गरेका थिए।
खेलमा सुरुआती अग्रता लिलले लियो । ३८औं मिनेटमा उसका बुराक यिलमाजले पेनाल्टीमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। जर्जिन्हो लिलेका खेलाडीलाई फाउल गरेपछि उसले पेनाल्टी पाएको थियो।
पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए। उनले जर्जिन्होको पासमा गोल गरेका थिए। त्यसपछि खेलको ७१औं मिनेटमा सिजर एजप्लिक्वेटाले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए।