फुटबलले पाएको सबैभन्दा महान खेलाडीमध्येका एक लियोनल मेसीले फेरि अर्को रेकर्ड बनाएका छन । २००४ देखि बार्सिलोनाका लागि सिनियर फुटबल खेल्दै आएका अर्जेन्टाइन मेसीले एक दशकभन्दा लामो आफ्नो करियरमा कैयौं रेकर्ड तोडेका छन् भने अझ धेरै रेकर्ड बनाउन सफल रहे ।
एइबारविरुद्ध आइतबार भएको खेलमा गोल गर्दै मेसी ला लिगामा सर्वाधिक ४०० गोल गर्ने खेलाडी बने । मेसीले २००४ यता बार्सिलोनाका लागि खेलेका ला लिगाका ४३५ खेलमा ०.९२ गोल प्रति खेलको औसतमा गोल गर्दै ४०० गोल गर्न सफल रहे । ला लिगामा मेसीको यो रेकर्ड तोड्न असम्भवजस्तै छ । यो रेकर्ड तोड्न फेरि अर्को मेसी नै जन्मिनु पर्छ ।

मेसी भर्खर ३१ वर्षका भए, उनले अझै धेरै सिजन ला लिगा खेल्नेछन । त्यसैले ला लिगाको सर्वाधिक गोलकर्ता बन्न अर्को मेसीको विकल्प छैन । हाल ला लिगा खेलिरहेका मेसीपछिका सर्वाधिक गोलकर्ता एथ्लेटिको बिलबाओका एरिट्ज अडुरिज रहेका छन् । २००२ देखि ला लिगामा सक्रिय अडुरिजले ४२२ खेल खेल्दै १५७ गोल गरेका छन् ।
त्यस्तै, तेस्रो सर्वाधिक गोल गर्ने सक्रिय खेलाडीमा रियल मडृडका करिम बेन्जेमा रहेका छन् । बेन्जेमाले २००९ देखि लस ब्लांकोसका लागि २९४ खेल खेल्दै १३४ गोल गरेका छन् ।
ला लिगा इतिहासकै सर्वाधिक गोलकर्ताको दोस्रो नम्बरमा भने मेसीका चिरप्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो आउँछन् । रोनाल्डोले २००९ देखि २०१८ सम्म रियल मड्रिडका लागि २९२ खेल खेल्दै १.०७ गोल प्रति खेलको औसतमा ३११ गोल गरेका थिए । त्यस्तै, तेस्रो स्थानमा एट्लेटिको बिलबाओका लागि १९४० देखि १९५५ सम्म २७८ खेल खेल्दै २५१ गोल गरेका टेल्मो जर्रा रहेका छन् ।

मेसीको तुलनामा रोनाल्डोको गोल औसत राम्रो भएपनि यस सिजनको सुरुवातसँगै उनी रियलबाट युभेन्टसमा आबद्ध भएपछि उनी मेसीलाई जित्ने समीकरणबाट बाहिरिएका छन् । त्यसैले, मेसीको यो रेकर्ड अझै कैयौं दशकसम्म यथावत रहने पक्का छ ।
मेसी ला लिगाको आफ्नो ४००औं गोलमा अर्को पनि रेकर्ड बनाउन सफल रहे । उनी युरोपका उत्कृष्ट पाँच ए डिभिजन लिग (ला लिगा, इपिएल, सिरि ए, बुन्डेस लिगा र लिग वान) मा ४०० गोल गर्ने दोस्रो खेलाडी पनि बने ।
युरोपका शीर्ष लिगमा ४०० गोल पुर्याउने पहिलो खेलाडी रोनाल्डो हुन् । रोनाल्डोले ४९८ लिग खेलमा ४०० गोल गरेका थिए भने मेसीले उनको भन्दा ६३ खेल कम खेल्दै ४०० गोलको रेकर्ड बनाउन सफल रहे ।
मेसीले बार्सिलोनाका लागि पहिलो गोल १७ वर्षको उमेरमा २००५ मा गरेका थिए । उनको पहिलो गोलमा बार्सा र समग्र फुटबलका अर्का लेजेन्ड रोनाल्डिन्हिको एसिस्ट थियो । रोनाल्डिन्होले बार्साका लागि १४५ खेलमा ७० गोल गरेका थिए ।
मेसीले ४०० गोल गर्ने क्रममा ८३ खेलमा दुई गोल गरे भने ३१ पटक ह्याट्रिक गरे । त्यस्तै, उनले आफ्नो ला लिगा करियरमा सर्वा्धिक गोल सेभिल्लाविरुद्ध गरेका छन् । सेभिल्लाको पोस्टमा २५ गोल छिराएका मेसीले एट्लेटिको मडृडलाई २३ गोल गरेका छन भने भ्यालेन्सियाविरुद्ध २२ गोल गर्न सफल रहे । उनले चिरप्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडविरुद्ध १८ गोल गरेका छन् ।

मेसी गोलसंख्यामा मात्र होइन एसिस्टमा पनि ला लिगाकै सर्वोत्कृष्ट खेलाडी हुन् । ४३५ खेलमा खेलेका ४०० गोलको रेकर्ड बनाएका मेसीले १६५ एसिस्ट गरेका छन ।
मेसीले ला लिगामा मात्र होइन सबै प्रतियोगितामा आफ्नो दबदबा कायम राखेका छन । उनले बार्साका लागि खेलेका सबै खेलमा कुल ५७५ गोल गरेका छन । उनीपछी बार्साका लागि सर्वा्धिक गोल गर्ने खेलाडीमा लुइस सुआरेज छन । सुआरेजले सबै प्रतियोगितामा बार्साका लागि २२१ खेल खेल्दै १६६ गोल गरेका छन् ।
बार्सिलोनाका लागि १५औं सिजन खेलिरहेका मेसीले ९ पटक बार्सालाई ला लिगा च्याम्पियन बनाए । ९ पटक ला लिगाको उत्कृष्ट फरवार्डको उपाधि जितेका मेसी ८ पटक ला लिगाको उत्कृष्ट खेलाडी पनि बन्न सफल भए ।
यसैगरी, ५ सिजन ला लिगाको उच्च गोलकर्ता बन्दै ५ वटा गोल्डेन बुट जित्ने रेकर्ड बनाएका मेसी ४ सिजन सर्वाधिक एसिस्टकर्ता पनि बने ।