बार्सिलोनालाई जितको सुखीसँगै चोटको पीडा

ला लिगाको छैठौं खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले जित हात पारेको छ । मंगलबार राति क्याम्प नेउमा भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २–१ले पराजित गरेको हो ।

यो जितसँगै बार्सिलोना १० अंकका साथ चौथो स्थानमा उक्लिएको छ । ६ खेलमा बार्सिलोनाले ३ जित, १ बराबरी र २ हारको सामना गरेको छ । ११ अंक जोडेका ग्रानडा, एथ्लेटिको बिल्बाओ र रियल म्याड्रिड क्रमशः पहिलो दोस्रो र तेस्रो स्थानमा छन् । बिल्बाओ र रियलले १ खेल कम खेल खेलका छन् ।

बार्सिलोनालाई भिल्लारियलविरुद्ध प्राप्त जितको खुसीसँगै चोटका पीडा पनि थपिएको छ । भर्खरै चोटमुक्त हुँदै मैदान फर्किएका कप्तान लियोनल मेसी पुनः घाइते भए । ग्रानडाविरुद्धको खेलबाट मैदान फर्किएका मेसी भिल्लारियलविरुद्ध दोस्रो हाफको सुरुवातमै मैदान छाड्न बाध्य भए ।

प्रशिक्षक अर्नेस्टो भालभार्डेले मेसीको चोट सामान्य भएको बताएका छन् । उनले थप परिक्षणपछि मेसीको चोट कस्तो भन्ने बारेमा विस्तृत जानकारी आउने बताएका छन् । ला लिगामा २० वर्षयताकै खराब सुरुवात गरेको बार्सिलोनालाई मेसीको चोटले थप पीडा थपिदिएको छ ।

मंगलबार राति घरेलु मैदानमा अग्रता पनि बार्सिलोनाले नै लिएको थियो । मेसीको कर्नरमा एन्टोइन ग्रिजम्यानले हेड गर्दै गरेका थिए । १५औ मिनेटमा सर्जियो बुस्केट्सको पासमा अथुएरले गोल गरेपछ िबार्सिलोनाले सुरुवातमै २–०को अग्रता लियो ।

पहिलो हाफको अन्तिम मिनेटमा सान्टी काजोर्लाले गोल गर्दै भिल्लारियललाई खेलमा फर्किने संकेत दिएका थिए । तर, त्यसपछि कुनै गोल हुन नसक्दा बार्सिलोना २–१ले विजयी भयो ।