साउथह्याम्पटनको पोस्टमा लिभरपुलको ४ गोल, जेरार्डको आगमनपछि भिल्लाको लय

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको सानदार जित निकालेको छ । लिगअन्तर्गत शनिबार लिभरपुलले साउथह्याम्पटनलाई ४–० को प्रभावशाली जित निकाल्यो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि डिएगो जोटाले २ गोल गरे भने थिएगो अल्कान्टारा र भर्जिल भान डाइकले पनि गोल गरे ।

घरेलु मैदानमा लिभरपुलले दोस्रो मिनेमै अग्रता लियो । उसका लागि जोटाले एन्ड्रयु रोबर्टसनको पासमा गोल गरेका थिए । जोटाले नै ३२औं मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाए । यो पटक उनले मोहम्मद सलाहको पासलाई सदुपयोग गरे।

त्यसपछि ३७अ‍ैं मिनेटमा थिएगोले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३–०को अग्रता लियो । ५२औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा भान डाइकले गोल गरेपछि लिभरपुल ४–०ले विजयी भयो।

जितपछि १३ खेलबाट २८ अंक जोड्दै लिभरपुल दोस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको चेल्सी २९ अंकसहित शीर्ष स्थानमा छ । चेल्सीले आइतबार म्यानचेष्टर युनाइटेडसँग खेल्दैछ ।

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा एस्टन भिल्लाले पनि जित निकाल्यो । उसले शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ले हरायो। भिल्लाको जितमा म्याट टार्गेट र जोन म्याकगिनले गोल गरेका थिए भने क्रिस्टल प्यालेसका मार्क गुहीले १ गोल फर्काएका थिए।

प्रशिक्षकका रुपमा स्टेफन जेरार्डको आगमनपछि भिल्लाको यो लागातार दोस्रो जित हो । यसअघि उसले ब्राइटनलाई २–०ले हराएको थियो। लगातार ४ हार बेहोरोपछि भिल्लाले तीनसाता अघि प्रशिक्षक डियन स्मिथलाई बर्खास्त गर्दै जेरार्डलाई प्रशिक्षक बनाएको हो।