लिभरपुल र सिटीको सहज जित, चेल्सी रोकियो

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका खेलमा लिभरपुल र म्यान्चेस्टर सिटीले सहज जित हात पारेका छन् । यता, फ्यांक लाम्पार्टको प्रशिक्षणमा रहेको चेल्सी भने बराबरीमा रोकिएको छ ।

शनिबार राति बर्नेलीको मैदानमा भएको खेलमा लिभरपुलले ३–०ले जित निकाल्यो भने डिफेन्डिङ च्याम्पियन सिटीले आफ्नै मैदानमा ब्राइटनलाई ४–०ले पराजित ग¥यो । चेल्सी भने घेरलु मैदानमा नवप्रवेशी क्लब सेफिल्ड युनाइटेडसँग २–२ गोलको बराबरीमा रोकियो ।

लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । लिभरपुलले खेलमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । खेलको ३३ औं मिनेटमा क्रिस वुडले आत्मघाती गोल गरेका थिए । ३७औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

खेलको ८० औं मिनेटमा फिर्मिन्होले गोल गरेपछि खेल लिभरपुलले ३–०ले जित्यो । यो फिर्मिन्होको प्रिमियर लिगको ५०औं गोल हो । उनी इपिएलमा ५० गोल गर्ने पहिलो ब्राजिलियन खेलाडी पनि बनेका छन् । जितसँगै लिभरपुलले ४ खेलबाट १२ अंक जोडेको छ ।

यसैगरी घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अगुएरोले दुई गोल गरे भने केभिन डे ब्रुएन र बर्नार्डो सिल्भाले एक–एक गोल गरे । खेलको दोस्रो मिनेटमै डे ब्रुएनको गोलमा सिटीले अग्रता लिएको थियो । ४२ औं मिनेटमा अगुएरोले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

५५ औं मिनेटमा अगुएरोले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ३–०को अग्रता लियो । ७९ औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले खेल एकपक्षीय रुपमा ४–०ले जित्यो । जितसँगै सिटी ४ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा छ ।

यसैगरी चेल्सीले भने शनिबार घरेलु मैदानमा नवप्रवेशी सेफिल्ड युनाईटेडसँग २–२ गोलको बराबरी खेलेको छ । २–० को अग्रतालाई जोगाउन नसक्दा चेल्सीले अंक बाँड्न बाध्य भयो ।

१९ औ मिनेटमा टमी अब्राहमको गोलमार्फत चेल्सीले सुरुवाती अग्रता लियो । ४३ औं मिनेटमा अब्राहमले नै क्लबको अग्रता दोब्बर पारे । ४६ औं मिनेटमा सेफिल्डका कामल रोविन्सनले गोल फर्काए ।

जिततर्फ अग्रसर भएको चेल्सीका डिफेन्डर कुर्ट जुमाले आत्मघाती गोल गर्दा चेल्सी अंक बाँड्न बाध्य भयो । चेल्सीले ४ खेलबाट ५ अंक जोड्दै तालिकाको नवौं स्थानमा छ । नवप्रवेश सेफिल्ड ५ अंक सहित आठौं स्थानमा छ ।

यसैगरी अन्य खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई १–०ले पराजित ग¥यो भने लेसेस्टर सिटीले बर्नेमाउथलाई ३–१ले पराजित गर्दा बेस्टह्यामले नर्विच सिटीलाई २–०ले हरायो । यस्तै, न्युकासल न्युनाइटेड र वाटफोर्डले १–१ गोलको बराबरी खेले ।