फ्रेन्च क्लब पिएसजीलाई हराउँदै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको समूह ए को विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ। सिटी घरेलु मैदानमा पिएसजीलाई २–१ गोल अन्तरले हराउँदै समूहमा अन्तिम खेल अगाडि ४ अंकको स्पष्ट अग्रतासहित समूह विजताका रुपमा नकआउट चरण प्रवेश गरेको हो।
पहिलो हाफसम्म गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा पिएसजीले अग्रता लियो। खेलको ५० औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै फ्रेन्च टिमलाई सुरूवाती अग्रता दिलाए। ६३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
खेलको ७६ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा प्रवेश गरेका ग्याब्रीएल जेससले गोल गर्दै सिटीलाई २(१ को अग्रता दिलाए। त्यसपछि खेलमा गोल भएन र खेल सिटीले जित्यो।
योसँगै सिटी ५ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहने पक्का भएको छ। दोस्रो स्थानमा रहेको पिएसजीको समान खेलबाट ८ अंक छ।
यसैगरी लिभरपुलले च्याम्पियन्स लिगमा लागतार पाँचौं जित निकालेको छ । लिभरपुलले लगातार पाँचौ जित निकाल्ने क्रममा पोर्चुगिज क्लब एफसी पोर्टोलाई २–०ले हरायो ।
लिभरपुलको जितमा थियागो अलकान्टारा र मोहम्मद सलाहले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ५२औं मिनेटमा अलकान्ताराले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाए। खेलको ७०औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे।
जितपछि समूह बीमा अपराजित रहेको लिभरपुलको ५ खेलबाट १५ अंक जोडेको छ। पराजित पोर्टो ५ अंक जोडेर दोस्रो स्थानमा छ। लिभरपुल पोर्टोविरुद्धको खेलअघि नै नकआउट चरण प्रवेश गरिसकेको थियो।