इजिप्टका स्ट्राइकर मोहम्मद सलाह चम्किएपछि इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ भने जोसे माउरिसन्हो टिम टोटनह्याम भने ब्राइन्टनसँग पराजित भयो । लिभरपुलले वेस्टह्यामलई ३–१ले हराउँदा टोटनह्याम ब्राइटनसँग १–०ले स्तब्ध भयो ।
आइतबार राति भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे भने जर्जिनियो विज्नाल्डमले एक गोल गरे । वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काएका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५७औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । ६८औं मिनेटमा सलाहले नै गोल गर्दै लिभरपुलेके अग्रता दोब्बर बनाए । ८४औं मिनेटमा विज्नाल्डमले गोल गरेपछि लिभरपलले ३–० को अग्रता लियो । ८७औं मिनेटमा वेस्टह्यामका डसनले गोल गर्दै अग्रता ३–१मा झारे । तर त्यसपछि गोल नहुँदा लिभरपुल विजयी भयो ।
यसैगरी आइतबार राति नै भएको अर्को खेलमा माउरिन्हो टिम टोटनह्याम ब्राइटनसँग १–०ले स्तब्ध भयो । घरेलु मैदानमा ब्राइटनलाई जित दिलाउन लिनड्रो ट्रोसार्डले निर्णायक गोल गरे । उनले खेलको १७ औं मिनेटमा गोल गरेका थिए ।
जितपछि लिभरपुल ४० अंकका लिगको तेस्रो स्थानमा उक्लिएको छ भने ३५ अंक जोडेको वेस्टह्याम पाँचौं स्थानमा छ । ३३ अंक जोडेको टोटनह्याम छैठौं स्थानमा रहँदा ब्राइटन २१ अंकसहित १७औं स्थानमा छ ।