प्रिमियर लिग क्लब उल्भ्सका पोर्चुगिच स्ट्राइकर डिएगो जोटा लिभरपुलमा आबद्ध भएका छन् । लिभरपुलले २३ वर्षीय स्ट्राइकर जोटालाई सिजनको तेस्रो खेलाडीका रुपमा टिमा अनुबन्धन गरेको हो ।
यसअघि लिभरपुलले बायर्न म्युनखिका मिडफिल्डर थिएगो अल्काटारा र ओलम्पियाकोसका डिफेन्डर कोस्टास टसिमिकासलाई अनुबन्धन गरेको छ ।
उल्भ्स स्ट्राइकर जोटा भित्र्याउन लिभरपुलले ४५ मिलियन पाण्ड खर्चियो । जोटाले लिभरपुलसँग ५ वर्षको सम्झौता गरेका छन् । अब उनी एन्डफिल्डमा सन् २०२५ सम्म रहने छन् । जोटाले लिभरपुलमा २० नम्बरको जर्सी लगाउने छन् ।
उल्भ्समा उत्कृष्ट प्रदर्शन गरेका जोटाका लागि लिभरपुल उपुयुक्त क्लब भएको उल्भ्सका प्रशिक्षक नुनो सान्टोले बताएका छन् । नुनोले नै जोटालाई सन् २०१८मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट उल्भ्स ल्याएका थिए । उल्भ्स दोस्रो डिभिजनमै उँदा उनले एक सिजन लोनमा खेलेका थिए ।
उल्भ्सका लागि जोटाले १४१ खेलमा ४४ गोल गरेका छन् । गत सिजन ४८ खेलमा १६ गोल गरेका जोटाले पोर्चुगलका लािग ४ खेलमा १ गोल गरेका छन् ।
यसैगरी उल्भ्सले लिभरपुलका १८ वर्षीय डिफेन्डर कि जान होभरलाई अनुबन्धन गरेको छ । होभर गत सिजनमात्र आयाक्सबाट लिभरपुलबाट आएका थिए । उनले वुल्भ्ससँग ५ वर्षको सम्झौता गरेका छन् ।