१० खेलाडीमा सीमित चेल्सीसँग बराबरीमा रोकियो लिभरपुल

प्रिमियर लिगअन्तर्गत लिभरपुर र चेल्सीबीचको खेल बराबरीमा सकिएको छ। दोस्रो हाफ १० खेलाडीमा सिमित भएपनि चेल्सीले लिभरपुलका सबै गोलको प्रयास विफल बनाएपछि खेल बराबरीमा सकिएको हो।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो। रीस जेम्सले प्रहार गरेको कर्नरकिकमा काइ हाभर्ट्जले उत्कृष्ट हेडिङ गरेपछि चेल्सीले २२औं मिनेटमा अग्रता लिएको हो।

तर, पहिलो हाफको अन्त्यतिर लिभरपुलका मानेले प्रहार गरेको सट गोलपोस्ट अगाडीबाट रोक्ने क्रममा जेम्सले ह्याण्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो।

हातले बल रोकेका कारण भारको सहायतामा उनलाई रेफ्रिले रातो कार्ड देखाएका थिए। जेम्सले पहिलो हाफको इन्जुरी टाइममा रातो कार्ड पाएका हुन्। त्यसपछि प्राप्त पेनाल्टीको सदुपयोग गर्दै मोहम्मद सलाहले खेल बराबरीमा ल्याएका थिए।

चेल्सीले एन्फिल्डमा सिंगै दोस्रो हाफ १० खेलाडीमा सिमित रहेर खेलेको थियो। दोस्रो हाफमा लिभरपुलले एकछत्र दवाब कायम राखेपनि चेल्सीका डिफेन्डर र गोलकिपरलाई बिट गर्न नसक्दा जित निकाल्न भने सकेन।

घरेलु मैदानमा ६६ प्रतिशत बल पोजेसन राखेको लिभरपुलले २३ सट प्रहार गर्दा ८ वटा सट टार्गेटमा गएका थिए। ३४ प्रतिशत बल पोजेसनमा खुम्चिएको चेल्सीले जम्मा ६ वटा सट प्रहार गर्द तीनवटा टार्गेटमा गएका थिए।

लिभरपुलले दोस्रो हाफमा गोलका सुन्दर मुभ र अवसर बनाउँदा चेल्सीका डिफेन्डर र गोलकिपररले उत्कृष्ट बचाउ गर्दै सबै प्रयास विफल बनाएका थिए।