सलाहले दुर्लभ कीर्तिमान बनाउँदा लिभरपुलको सहज जित

मोहम्मद सलाहले कीर्तिमानी प्रदर्शन गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग (इपिएल) मा विजयी सुरुवात गरेको छ। नर्विच सिटीविरुद्ध भएको सिजनको पहिलो खेलमा लिभरपुलले ३–० को सहज जित निकालेको हो।

लिभरपुलको जितमा सलाहले दुर्लभ कीर्तिमान कायम गरेका छन्। उनी नर्विचविरुद्ध गोल गर्दै इपिएलको लगातार पाँच सिजन सुरुवाती खेलमा गोल गर्ने खेलाडी बन्न सफल भएका छन्। नर्विचविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका सलाहले एक गोलका साथै दुई असिस्ट पनि गरेका छन्।

लिभरपुललाई डिएगो जोटाले सुरुवाती अग्रता दिलाएका थिए। २६औं मिनेटमा गोल गर्दै जोटाले पाहुना टोलीलाई अग्रता दिलाएका हुन्। दोस्रो गोल भने रोबर्टो फिर्मिन्होले गरेका थिए। जोटाको स्थानमा मैदान प्रवेश गरेका फिर्मिन्होले ६५औं मिनेटमा गोल गरेका थिए।

यसैगरी, मोहम्मद सलाहले तेस्रो गोल थप्दै लिभरपुलको जित सुनिश्चित गरेका थिए। जोटा र फिर्मिन्हो दुवैलाई असिस्ट गरेका सलाहले ७४औं मिनेटमा आफैंले गोल हानेका थिए। यससँगै सलाहले लिभरपुलका लागि लगातार पाँच सिजन सुरुवाती गोल गर्न सफल भएका छन्।

लिभरपुलले पछिल्ला ९ सिजनका सुरुवाती खेलमध्ये ८ वटा खेलमा जित हात पार्न सफल भएको थियो। यस्तै, नर्विचले आफ्नै मैदानमा भएका लगातार आठ खेलमा लिभरपुलविरुद्ध हार बेहोरिरहेको छ। यो नर्विच सिटीको लगातार ११औं तेस्रो हार हो।