स्पेनिस टिमको मुख्य प्रशिक्षकबाट लुइस एनरिके बर्खास्त भएका छन्। विश्वकपमा खराब प्रदर्शन गरेपछि एनरिकेलाई स्पेनिस फुटबल फेडेरेसनले मुख्य प्रशिक्षबाट हटाएको हो।
कतार विश्वकपमा स्पेन मोरक्कोसँग पेनाल्टी सुटआउटमा ३–०ले पराजित हुँदै अन्तिम१६बाटै बाहिरिएको थियो। स्पेन विश्वकपबाट बाहिरिएको २ दिनपछि फेडेरेसनले एनरिकेलाई प्रशिक्षकबाट हटाउने निर्णय गरेको हो।
टिम चाँडै विश्वकपबाट बाहिरिएपछि एनरिकेको चर्को आलोचना भइरहेको छ । फर्ममा रहेका स्ट्राइकर अल्भारो मोराटालाई सुरुआतमै नखेलाएको तथा सर्जियो रामोस र थिएगो अल्कान्टारालाई टिम नराखेको भन्दै उनको आलोचना भइरहेको छ।
५२ वर्षीय एनरिके रसिया विश्वकप लगत्तै स्पेनिस टिमको प्रशिक्षक बनेका थिए। उनको प्रशिक्षणमा स्पेनले ४७ खेल खेल्दै २६मा जित, १४ बराबरी र ७ हारको सामाना गरेको छ।
बार्सिलोना र रियल मड्रिड दुवैबाट व्यवसायिक फुटबल खेलेका एनरिकेले स्पेनबाट ६२ खेल खेल्दै १२ गोल गरेका छन्।