२८ वर्षीय बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु ७ वर्षपछि पुनः लन्डन क्लब चेल्सी फर्किएका छन् । चेल्सीले लुकाकुलाई इन्टर मिलानबाट ९७.५ मिलियन युरोमा अनबुन्धन गरेको हो।
७ वर्षपछि पुनः स्टामफोर्ड ब्रिजमा निलो जर्सीमा देखिन लागेका लुकालुले फेरि चेल्सी फर्किन पाउँदा निकै भाग्यमानी र खुशी महसुस गरेको बताएका छन्।
‘यो मेरो लागि निकै लामो यात्रा रह्यो– पहिलोपटक म चेल्सीमा आउँदा धेरै कुरा सिक्नै बाँकी रहेको आँखाभरी सपना बोकेको बच्चा थिएँ,’ च्याम्पियन्स लिग विजेता चेल्सीसँग ५ वर्षको सम्झौता गरेपछि लुकाकुले भने, ‘अहिले मैले धेरै अनुभव बटुलेको छु र निकै परिपक्व भएर स्टामफोर्ड ब्रिज फर्किएको छु।’
७ वर्षअघि चेल्सीबाटै खेल्ने चाहना हुँदाहुँदै क्लब छाड्न बाध्य भएका लुकाकुले भने, ‘तपाईंहरूलाई थाहै छ, चेल्सीसँगको मेरो सम्बन्ध निकै विशेष छ। मैले बच्चैदेखि नै चेल्सीको समर्थन गरें र अहिले म चेल्सीलाई थप उपाधि जिताउन फर्किएको छु। मलाई निकै रमाइलो लागिरहेको छ।’
लुकाकुले चेल्सीले अहिले पहिल्याएको बाटो र आफूले २८ वर्षको उमेरमा लिएको महत्वकांक्षा मिल्ने भएकाले आफू लन्डन क्लब फर्किएको बताए । ‘क्लबको बाटो र मेरो महत्वकांक्ष दुवै मिलेको छ । र, सिरि ए जितेर फर्किनुले सुनमा सुगन्धको काम गरेको छ। मेरो विचारमा यो मेरा लागि सही समयमा पाएको उपयुक्त अवसर हो ।’ उनले यसपटक धेरै सफलता हासिल गर्न सक्नेमा आशावादी रहेको बताए ।
सन् २०१९मा म्यान्चेस्टर युनाइटेडबाट इन्टर पुगेका लुकाकुले त्यहाँ उत्कृष्ट प्रदर्शन गरेका थिए। उनकै उत्कृष्ट प्रर्दशन मद्दतमा इन्टरले १० वर्षपछि सिरि ए उपाधि जितेको थियो।
‘मैले चेल्सी छाडेयता निकै उतारचढावपूर्ण यात्रा तय गरेँ, तर ति अनुभवहरुले मलाई सुदृढ बनाएका छन्। र, अबको चुनौती भनेको टिमलाई अझै ट्रफी जिताउनु हो,’ उनले भने ‘म चेल्सीबाट खेल्न निकै उत्साहित छु र क्लबलाई थप सफलता दिलाउन पनि व्यग्र छु।’