रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले युरो छनोटमा सानदार सुरूआत गरेको छ। गएराति फ्रेन्ड्स एरिनामा भएको छनोटअन्तर्गत समूह एफको खेलमा बेल्जियमले स्विडेनमाथि ३–० को सहज जित निकालेको हो।
कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको बेल्जियमलाई जिताउन लुकाकुले ह्याट्रिक गरे। ३५ औं मिनेटमा गोल गर्दै लुकाकुले बेल्जियमलाई सुरूआती अग्रता दिलाए। खेलको ४९ औं मिनेटमा लुकाकुले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।
त्यसपछि ८२औं मिनेटमा लुकाकुले ह्याट्रिक पूरा गर्दै बेल्जियमलाई सानदार जित दिलाए। लुकाकुले सन् २०२१ पछि बेल्जियमका लागि गोल गरेका हुन्।
खेलमा ४१ वर्षीय ज्लाटन इब्राहिमोभिच झन्डै एक वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरे पनि टोलीलाई जिताउन सकेनन्। ज्लाटन ७३औं मिनेटमा एलेक्सान्डर इसाकको स्थानमा मैदान प्रवेश गरेका थिए।
नयाँ प्रशिक्षक डोमिनिको टेडेस्कोले आफ्नो प्रशिक्षणको पहिलो खेलमा सानदार जित दर्ता गर्दै सुखद् सुरुवात गर्न सफल भएको छ।
कतारमा सम्पन्न फिफा विश्वकप २०२२ पछि प्रशिक्षक रोबर्टो मार्टिनेजले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि डोमिनिको बेल्जियमको टोली सम्हालेका थिए।