संकटासँग रोकियो मछिन्द्र, मनाङलाई फाइदा

सहिद स्मारक ए डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब बराबरीमा रोकिएको छ। शुक्रबार साँझ भएको खेलमा मछिन्द्र र संकटा क्ललसँग गोलरहित बराबरीमा रोकियो ।

मछिन्द्र बराबरीमा रोकिँदा त्यसको प्रत्यक्ष फाइदा मनाङ मर्स्याङ्दी क्लबलाई भएको छ। मछिन्द्र रोकिएपछि एएफसी कप छनोट खेल्ने मनाङको सम्भावना बढेको छ। ८ चरणका खेल सकिएपछि शीर्ष स्थानमा रहने भएकाले एएफसी कप छनोट खेल्ने समीकरण अब मनाङको आफ्नै हातमा आइपुगेको छ।

५ खेलमा ११ अंकसहित मछिन्द्र शीर्ष स्थानमा छ। १ खेल कम खलेको मनाङ १० अंकसहित दोस्रो स्थानमा छ भने संकटा ९ अंकसहित चौथो स्थानाम छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोलको मुभ बनाउन सकेनन् । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गर्दा पनि सफल हुन सकेन ।

६१औं मिनेटमा मछिन्द्रका मनिष डाँगीले सुनिल बलको क्रसमा गोल गरे पनि रेफ्रीले अफसाइड दिएका थिए । त्यसको विराेधमा मछिन्द्रका खेलाडी र अफिसियलले प्रतिवाद गरेका थिए ।

खेलको अन्तिम १० मिनेटमा संकटाले गोल गर्ने दुई अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

खेलको ८१ औं मिनेटमा संकटाले गोलको राम्रो अवर बनाएको थियो । विदेशी खेलाडी फोडे फोफानाले बाया भागबाट प्रहार गरेको बल सेकेण्ड बारभन्दा नजिकैबाट बाहिरिएको थियो ।

खेलको ८८औं मिनेटमा फोफानाको क्रसमा जय गुरुङको हेडर पोष्टभन्दा थोरै माथिबाट बाहिरिँदा संकटाले अग्रता लिने अवसर गुमायो ।