ए डिभिजन लिगमा विमल घर्तिमगरले उत्कृष्ट प्रदर्शनमा प्रदर्शन गरेपछि लिग लिडर मछिन्द्र विजयी भएको छ। लिगको दशौं चरणअन्तर्गत शनिबार भएको खेलमा मछिन्द्रले च्यासल युथ क्लबमाथि २–०को जित निकाल्यो ।
यो जितसँगै मछिन्द्रले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ। उसको १० खेलबाट २६ अंक छ भने दोस्रो स्थानमा रहेको मनाङको १९ अंक छ। यद्यपि मनाङले १ खेल कम खलेको छ ।
यता, हारपछि पुछारमा रहेको च्यासललाई भने रेलिगेसनको दबाब बढेको छ । च्यासल भने १० खेलबाट ५ अंकसहित पुछारमा छ ।
दशरथ रंगशालामा भएको खेलमा विमलले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरे । खेलको १७औं मिनेटमा रञ्जित धिमालको कर्नरमा विमलले ब्याक हेडरमार्फत पहिलो गोल गरेका थिए । उनकै सहयोगमा ३५औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरे ।