हिमालयन शेर्पामाथि मछिन्द्रको सहज जित, विमलले गरे गाेल

सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लब विजयी भएको छ। शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा मछिन्द्रले हिमालयन शेर्पामाथि ३-० को जित निकाल्यो।

छिन्द्रका लागि सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्तिमगरले गोल गरे । मछिन्द्रले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो।

२९ औं मिनेटमा करिम ओमालाको फ्रिकिकमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । हिमालयन शेर्पाका गोलकिपर दीप अघि बढेको मौकामा सुनीलले गोल गरेका थिए । जारी लिगमा सुनिलको यो तेस्रो गोल हो।

६७ औं मिनेटमा नुर्लानले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । उनले विशाल राईको कर्नरमा गोल गरेका थिए। इन्जुरी समयमा विमलले गोल गरेपछि मछिन्द्रले ३-०को जित निकाल्यो । जारी लिगमा विमलको पहिलो गोल हो।

यो सहज जितसँगै मछिन्द्र मनाङलाई गोलअन्तरमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। दुवै टिमको समान १० अंक छ। दुवै टिम अपराजित छन्। २ अंकमात्र जोडेको हिमालयन शेर्पा १२औं स्थानमा छ।