पाकिस्तानका फास्ट बलर मोहम्मद अमिरले क्रिकेट बोर्डसँग असन्तुष्टि जनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटबाट ‘अनिश्चितकालीन विश्राम’ लिने घोषणा गरेका छ । एक पाकिस्तानी टिभी च्यानललाई अन्तर्वार्ता दिँदै उनले सो घोषणा गरेका हुन् ।
आमिरले जुन २०१९ मा वर्कलोड मुद्धामा टेष्ट क्रिकेट छोड्ने घोषणा गरेका थिए । उनले पाकिस्तानी क्रिकेट बोर्डको ब्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै क्रिकेट छाड्ने निर्णय गरेका हुन् । आमिरले न्युजिल्याण्डमा चलिरहेको सिमिति ओभरको सिरिजमा आफुलाई बाहिर राखिएको बताए ।
आमीरले बोर्डले आफूलाई मानसिक यातना दिएको आरोप पनि लगएका छन । उनले आफुलाई क्रिकेटबाट बाहिर राख्ने प्रयास भईरहेको आरोप लगाएका छन् । आमिरले भने, ‘जब मलाई २५ खेलाडीमा राखिएन । मलाई आफ्नो बाटो स्पष्ट गर्ने समय आएको छ । म आफ्नो भविष्य अरुमा हेर्नेछु ।’ उनले भने, ‘म क्रिकेटबाट टाढा गईरहेको छैन । मलाई क्रिकेटबाट टाढा बनाउने कोशिश भईरहेको छ ।’
आमिर हाल लंका प्रिमियर लिगका लागि श्रीलंकामा छन् । केही दिनमा पाकिस्तान फर्केर आफ्नो विश्रामबारे विस्तृत जानकारी दिने उनले बताए । अहिलेकै व्यवस्थापनमा आफूले खेल्न नसक्ने भने उनले स्पष्ट पारेका छन् ।
२८ वर्षीय बाँया हाते बलर आमिरले सन् २००९ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका हुन् । उनले हालसम्म १ सय ४७ अन्तर्राष्ट्रिय म्याच खेलेर २५९ विकेट लिइसकेका छन् । बीचमा स्पट फिक्सिङमा मुछिएर लामो समय उनको क्रिकेट करिअर अवरुद्ध भएको थियो ।