अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ। छानबिन सकेर प्रतिवेदन तयार भएपछि समितिका संयोजक पुरेन्द्रविक्रम लाखेले राखेपका सदस्य सचिव रमेश सिलवाललाई प्रतिवेदन बुझाएका हुन्।
अल्मुताइरीले गत साउन १० गते वरिष्ठ उपाध्यक्ष नेम्बाङलाई दोषारोपण गर्दै आफुले राजीनामा दिन लागेको फेसबुकमार्फत् बताएका थिए। त्यसको खण्डन गर्दै नेम्बाङले छानबिनको माग गरेका थिए।
समितिले विश्वव्यापी मान्यता, फिफा तथा एएफसीको विधानलाई संघ, पदाधिकारी तथा विदेशी प्रशिक्षकले पनि अक्षरस पालना गर्नुपर्ने बताएको छ। साथै,
छानबिन समितिले बुझाएको प्रतिवेदनको मुख्य बुँदाहरूः
१) अखिल नेपाल फुटबल संघले १५ दिनभित्र Code of Conduct तयार गरी परिषदबाट स्वीकृति लिई लागू गर्नु पर्ने देखिन्छ।
२) कुवेती नागरिक एवं कतार फुटबल संघसँग अनुबन्ध रहेका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्ना केही व्यावसायीक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने देखिन्छ। उहाँले सम्झौतामा उल्ेखित शर्तहरूको बन्देजमा रही नेपाली राष्ट्रिय टिमका फुटबल खेलाडीहरूलाई गुणस्तरीय प्रशिक्षण प्रदान गर्न पर्ने हुन्छ। उहाँले गरेको प्रशिक्षण कार्यका बारेमा सरोकारवाला सबै पक्षले सकारात्मक ढंगबाट समर्थन नै गरेको यथार्थताबाट उहाँको कार्य दक्षता, क्षमता एवं भूमिकाका बारेमा प्रश्न उठाउने देखिदैंँन।
३) निज विदेशी प्रशिक्षक अलमुताइरीले उक्त विवादास्पद राजीनामा सम्बन्धी पोष्टलाई आफ्नो फेसबुकबाट हटाउन खेलकुद परिषदबाट निर्देशन दिनुपर्ने।
४) फुटबलका मुख्य प्रशिक्षकले अखिल नेपाल फुटबल संघसँग गरेको सम्झौता बमोजिमका कार्य मात्र सम्पादन गर्नु पर्ने र आगामी दिनमा विवाद सिर्जना हुने खालका कुनै पनि कार्य गतिविधि नगर्न नगराउन एवं सामाजिक सञ्जाल र मिडियामा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्दै परिषदबाट सचेत गराउन पर्ने देखिन्छ।
५) कुनै पनि संचारकर्मीले कुनै पनि खेल प्रशिक्षकसँग अन्तर्वार्ता वा धारणा लिनु परेमा अखिल नेपाल फुटबल संघका सूचना अधिकारी अथवा व्यवस्थापनसँग पूर्व अनुमति लिएर मात्र सम्पर्क गनुपर्ने व्यवस्था मिलाउन पर्ने देखिन्छ, साथै प्रशिक्षकले पनि व्यवस्थापक मार्फत नै समन्वय गर्नपर्ने छ।
६) टिम व्यवस्थापकले प्रशिक्षकका गुनासा तथा समास्याहरूलाइ तत्काल सम्बन्धित निकायमा पुर्याउन जिम्मेवारपूर्ण रुपबाट भूमिका निर्वाह गर्नुपर्नेछ साथै निज प्रशिक्षकलाई सुरक्षाको प्रत्याभुती गराउँदै सोको व्यवस्था एन्फाले मिलाउन पर्नेछ।
७) खेल क्षेत्रलाई धुम्रपान र मध्यपान निषेधित क्षेत्र बनाउँदै सोही बमोजिमका कार्यहरु अगाडी बढाउनु पर्ने।
८) अखिल नेपाल फुटबल संघका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षक लगायतले आफ्नो पदीय मर्यादालाई ध्यानमा राखी कार्य गर्नु पर्ने।
९) विदेशी प्रशिक्षक अलमुताइरी र मेरो खेल अनलाईन पत्रिकाका पत्रकार विभा थापासँग भएको भनिएको विवाद समाधानका लागि आजका मितिले सात दिन भित्र एन्फा नेतृत्वले दवै पक्ष बोलाई समस्या समाधान गर्ने ।
१०) ल्लेखित विवादका कारण नेपाल र कतारबीचको मैत्रीपूर्ण सम्बन्धलाई समेत मध्यनजर गर्दै नेपाली फुटबलको विकास र विस्तारका लागि सम्बन्धित सबै पक्षहरुले आपसी विवाद एवं मनमुटावलाई आपसी समझदारी कायम गरी अगाडी बढ्नुपर्ने देखिन्छ।
११) अब उप्रान्त एन्फामा कुनै समस्या वा विवाद सिर्जना भए, आफै समाधान गर्न नसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेप नगराइ अभिभावकीय संस्था राष्ट्रिय खेलकुद परिषदलाई अनुरोध गर्ने ।