एभर्टनमाथि सिटीको जित, वुल्भ्सले ब्रेन्टफोर्डलाई हरायो

28 Dec, 2023

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ। बुधबार राति भएको खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै एभर्टनलाई ३–१ ले हरायो।

सिटीको जितमा फिल फोडेन, जुलियन अल्भारेज र बर्नार्डो सिल्भाले गोल गरे। एभर्टनका ज्याक ह्यारिन्सनले गोल गरेका थिए।

२९औं मिनेटमा ह्यारिन्सनको गोलमा एभर्टनले अग्रता लियो। पहिलो हाफ १–०मै सकियो।

पहिलो हाफमा १–०ले पछि परेको सिटीले दोस्रो हाफमा ३ गोल गर्दै खेल आफ्नो पक्षमा बनायो। ५३औं मिनेटमा फोडेनले गोल गर्दै खेलालाई बराबरीमा ल्याए।

६४औं मिनेटमा अल्भारेजले पेनाल्टीमा गोल गर्दैमा खेलमा सिटीलाई अग्रता दिलाए। ८६औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले ३–१को सहज जित निकाल्यो।

जितपछि म्यानचेस्टर सिटीको १८ खेलमा ३७ अंकसहित चौथो स्थानमा उक्लिएको छ। एभर्टनको १९ खेलमा १६ अंकसहित १७औं स्थानमा छ।

यस्तै, अर्को खेलमा वुल्भ्सले ब्रोन्टफोर्डलाई ४–१ले हरायो। वुल्भ्सका लागि हाङ हि चानले २ गोल गरे भने मारियो लेमिना र जेनरिन्सन बेलेगार्डेले पनि गोल गरे। ब्रेन्टफोर्डका योनी विसाले गोल गरेका थिए।

जितपछि वुल्भ्स २५ अंकसहित ११औैं स्थानमा उक्लिएको छ भने ब्रेन्टफोर्ड १९ अंकसहित १४औं स्थानमा छ।