शीर्ष स्थानमा सिटीलाई १२ अंकको अग्रता

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ। बुधबार राति भएको खेलमा सिटीले ब्रेन्टफोर्ड्लाई २-० ले पराजित गरेको हो ।

यो जितसँगै सिटीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ । सिटीको २४ खेलमा ६० अंक छ भने दुई खेल कम खेलेको लिभरपुलको ४८ अंक छ ।

घरेलु मैदान एतिहाद स्टेडियममा भएको खेलमा सिटीका लागि रियाद माहरेज र केभिन डि ब्रुएनाले गोल गरे ।

खेलको ४०औं मिनेटमा माहरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । म्याड्स रोएरस्लभले रहिम स्टरलिङलाई फाउल गरेपछि सिटीले पेनाल्टी पाएको थियो र त्यसमा माहरेजले गोल गरे । ६९औं मिनेटमा ब्रुएनाले सिटीका लागि दोस्रो गोल गरे ।