प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी घरेलु मैदानमै लिड्स युनाइटेडसँग पराजित भएको छ । शनिबार भएको खेलमा सिटी १० खेलाडीमा सीमित झरेको लिड्ससँग २–१ ले स्तब्ध बनेको हो ।
घरेलु मैदानमा म्यानचेस्टर सिटी १० खेलाडीमा झरेको लिड्ससँग पराजित हुन पुग्यो। लिड्सका लागि दुबै गोल स्टुआर्ट डेलासले गरे। यता, म्यानचेस्टर सिटीका लागि फेरान टोरेसले एक गोल फर्काए।
खेलको ४२ औं मिनेटमा स्टुआर्ट डेलासले गोल गर्दै लिड्सलाई अग्रता दिलाए। पहिलो हाफको अन्तिम समयमा लियाम कपरले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिड्स १० खेलाडीमा सीमित बनेको थियो। पहिलो हाफमै १० खेलाडीमा सीमित बनेपनि म्यानचेस्टर सिटीविरुद्ध लिड्सले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो।
खेलको ७६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै म्यानचेस्टर सिटीलाई १–१ गोलको बराबरी दिलाए। तर खेलको अन्तिम समयमा स्टुआर्ट डेलासले नै गोल गर्दै म्यानचेस्टर सिटीविरुद्ध लिड्सलाई २–१ गोलको जित दिलाए।
खेलमा अधिकांश समय बल पोजिसन आफ्नो पक्षमा राखेपनि म्यानचेस्टर सिटीले खेल हार्न पुग्यो। २९ पटक लिड्सको पोष्टमा म्यानचेस्टर सिटीले प्रहार गरेको थियो।
पराजित सिटी ३२ खेलबाट ७४ अंकसहित शीर्ष स्थानमै छ । ३० खेलबाट ६० अंकसहित म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा छ । ३१ खेलबाट ४५ अंकसहित लिड्स १०औं स्थानमा छ ।