इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा युनाइटेड जर्मन क्लब आरबी लेइपजिगसँग ३–२ ले पराजित भएको हो ।
लेइपजिगको जितमा एन्जेलिनो, अमाडोउ हैदरा र जस्टिन क्लुभर्टले गोल गरे भने युनइटेडका ब्रुनो फर्नान्डेसले १ गोल गरे भने इब्राहिम कोनाटेले आत्मघाती गोल गरेका थिए ।
डिफेन्डर एन्जेलिनोले दोस्रो मिनेटमै गोल गर्दै लेइपजिगलाई सुरुवाती अग्रता दिलाए । १३औं मिनेटमा हैदराले गोल गर्दै युनाइटेडविरुद्ध लेइपजिगलाई २–०को अग्रता दिलाए । ६९औं मिनेटमा क्लुभर्टले गोल गरेपछि लेइपजिगले ३–०को अग्रता लियो।
८०औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दैै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे । ८२औं मिनेटमा लेइपजिगका इब्रहिमले आफ्नै पोष्टमा गोल गरेपछि खेल ३–२मा आयो । त्यसपछि कुनै गोल नहुँदा लेइपजिग ३–२ले विजयी भयो ।

यसैगरी अर्को इंग्लिस क्लब चेल्सी भने बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा चेल्सी क्रास्नदारसँग १–१ गोलको बराबरीमा रोकियो । २४औं मिनेटमा रेमी सबेल्लाले गोल गर्दै क्रास्नदारलाई सुरुवाती अग्रता दिलाए । २८औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि गोल नहुँदा खेल बराबरीमै सकियो ।
यस्तै बोरुसिया डर्टमन्डले जेनिथलाई २–१ले हराउँदा सेभियाले रेनेसलाई ३–१ले हरायो । यस्तै, लाजियो र क्लब बर्गले २–२ गोलको बराबरी खेले ।