ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–०ले हराउँदै मनाङ फाइनलमा पुगेको हो।
मनाङका लागि अफिज ओलावले गोल गरे । उनले खेलको २९औ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । अब मनाङले उपाधिका लागि गोर्खा बोइज र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल र सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।