सहिद स्मारक एक डिभिजन लिगमा दुई ठूला क्लब मनाङ मर्स्याङ्दी र डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब बराबरीमा रोकिएका छन्। बिहीबार भएका छुट्टाछुट्टै खेलमा मनाङ र मछिन्द्रले बराबरी खेल्दै अंक बाँडेका हुन्।
च्यासल मैदानमा बिहीबार भएको खेलमा मनाङ संकटा क्लबसँग २–२ को बराबरीमा रोकियो । खेलमा मनाङका लागि कोफी कुडोले दुवै गोल गरे भने संकटाका युसुफ एट्रिस र मनिष डाँगीले गोल गरे।
दुई पटक लिएको अग्रता जोगाउन नसक्दा मनाङ लागता चौथो खेलमा बराबरी खेल्न बाध्य भयो। १९औं मिनेटमा कुडोले मनाङलाई अग्रता दिलाए। ४४औं मिनेटमा एट्रिसले गोल गर्दै संकटालाई बराबरीमा ल्याए।
४५औं मिनेटमा कुडोले पुनः मनाङलाई अग्रता दिलाए। ५२औं मिनेटमा मनिषले गोल गर्दै खेललाई २–२को बराबरीमा ल्याए।
यस्तै, बिहीबार नै दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले पनि फ्रेन्ड्ससँग २–२ कै बराबरी खेल्यो। खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो।
६८औं मिनेटमा प्रकाश बुढाथोकीले फ्रेन्ड्सलाई अग्रता दिलाए । ७१औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई खेलमा फर्काए।
७८औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए। ८३ औं मिनेटमा ओलावालेले नै गोल गर्दै मछिन्द्रलाई २–२को बराबरीमा ल्याए।
बराबरीसँगै मछिन्द्रले १९ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ भने फ्रेन्ड्स २१ अंकसहित १२औं स्थानमा छ। यता, लगतार चौथो बराबरी खेलेको मनाङले २३ अंकसहित सातौं स्थानमा छ। संकटा भने २२ अंकसहित आठौं स्थानमा छ।