म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगमा प्रतिबन्ध लाग्न सक्ने

इंग्लिस प्रिमियर लिग (इपिएल)को डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीलाई अर्को सिजन च्याम्पिन्स लिग खेल्न प्रतिबन्ध लाग्ने सक्ने छ ।

एसोसिएट प्रेस (एपी)का अनुसार सिटीले आफ्नो आर्थिक गतिविधिका बारे फर्जी रिपोर्ट दिएको र फाइनान्सियल फेयर–प्ले पोलिसी (एफएफपी)को उल्लंघन गरेको आरोपमा अनुसन्धान भइरहेको छ । यो आरोप पुष्टी भए युरोपियन फुटबल एसोसिएसन (युइएफए)ले सिटीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध लगाउने छ ।

गत महिना जर्मन म्यागाजिन डेर स्पिएगेलमा प्रकाशित सिटीको आन्तरिक इमेलमा उसले आफ्नो आयको वास्तविक स्रोत स्पस्ट नखुलाएको र त्यसलाई लुकाउन विभिन्न प्रपन्च रचेको पाइएप्छि युरोपियन फुटबलको छाता संगठन युइएफए सिटीलाई प्रतिबन्ध लगाउने प्रारम्भिक नतिजामा पुगेको एपीले जनाएको छ ।

युइएफएका एक अधिकारीले नाम नखुलाउने सर्तमा यो जानकारी दिएको एपीले बताएको छ । युइएफए यो विषयमा विचाराधिन रहेको र ठोस निष्कर्षमा नपुगिसकेकाले नाम खुलाउन नमिल्ने उनले बताएका थिए ।

सिटी यसअघि पनि सन् २०१४ मा एफएफपी उल्लंघन गरेकोमा युईएफएको कारबाहीमा परिसकेको छ । कम्पनीका प्रायोजक तथा मालिकबाट प्राप्त हुने रकम बढाएर युइएफएलाई रिपोर्ट बुझाउँदा सिटीलाई त्यसबेला प्रतिबन्ध नलगाई चेतावनीसहित जरिवानामात्र तिराइएको थियो । तर, यसपटकको सो आरोप पुष्टी भएमा सिटीलाई जरिवानामात्र होइन प्रतिबन्ध नै लाग्ने पक्का छ ।

‘फुटबल लिक्स’ ले डेर स्पिएगेरलाई उपलब्ध गराएको सो डेटा सही भएमा फैसला भइसकेका पूराना मुद्दाहरुमाथि पनि पूनर्विचार गरिने भएकाले सिटीको कारबाही सशक्त हुनसक्ने युइएफएले गत महिना नै बताएको थियो ।

‘फुटबल लिक्स’बाट आएको सूचना सिटीका सम्बन्धित पदाधिकारीको इमान्दारीता र निष्ठाको पनि परीक्षा भएको त्यसले सिटीको पछिल्ला तीन वर्षको ट्रान्सफर मार्केट र एफएफपी उल्लंघनका शंकास्पद मुद्दामा पुनर्विचार गर्न काफी भएको ती अधिकारीले बताए ।

युइएफएले सन् २०१५ यताका सिटीका सबै कारोबार मूल्यांकन गर्ने र विशेषगरी इतिहाड एयरवेजसँगको सम्झौतामा विशेष चासो दिने छ । डेर स्पिएगेलले सिटीले आन्तरिक इमेलमार्फत इतिहाड एयरवेजसँगको प्रायोजन सम्झौता तोडमोड गरेर रिपोर्ट बुझाएको ठोकुवा गरेको छ । इतिहाड एयरवेज अबुधाबीको वायुसेवा कम्पनीले हो र, सिटीको स्टेडियमदेखि ट्रेनिङ ग्राउन्डसम्म उसैले उपलब्ध गराएको छ भने सिटीको जर्सीमा प्रमुख नाम पनि इतिहाडकै छ ।

इतिहाडसँगको प्रायोजन सम्झौतामा प्रायोजकले वार्षिक ६७.५ मिलियन पाउन्ड सिटीलाई दिने उल्लेख छ । तर, जर्मन म्यागाजिनमा प्रकाशित सिटीका प्रमुख वित्तिय व्यवस्थापक जोर्गे चुमिल्लासले सिटीका निर्देशक सिमोन पियर्सलाई पठाको गोप्य इमेलमा सिटीको होल्डिङ कम्पनी अबुधाबी युनाइटेड ग्रुपमार्फत प्रायोजन रकममध्येको ५९.९ मिलियन पाउन्ड इतिहाडलाई नै फिर्ता गरिएको बताएका थिए ।

सिटी व्यवस्थापनले आजसम्म फुटबल लिक्स वा डेल स्पिएगेर दुवैले गरेको दाबीको विषयमा केही प्रतिक्रिया जनाएको छैन । सिटीको आर्थिक अनियमितताका बारेमा बोल्दै युइएफएका अध्यक्ष अलेक्सान्डर सेफेरिनले यस विषयमा व्यापक ध्यानाकर्षण भएको तर ती सबै दस्तावेज कुन स्रोतबाट प्राप्त भयो भन्ने विषयमा स्पष्ट जानकारी नभएको बताए ।

‘अनियमितताका बारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी सबै मुद्दा पुनरावलोकन गरिरहेका छौं’, सेफेरिनले भने, ‘छिट्टै हामी सबै अनुत्तरित प्रश्नहरुको उत्तर दिनेछौं र ठोस निष्कर्षमा पुग्नेछौं ।’

डेल स्पेइगरले आफूसँग भएका इमेलमा अबुधाबी युनाइटेड ग्रुपले एउटा गाडी सम्बन्धी फर्जी अफसोर कम्पनी खडा गरेर त्यसले आफ्नो उत्पादनको मार्केटिङका लागि खेलाडीको तस्बिर प्रयोग गरेबापत तिरेको रोयल्टीबाट सो पैसा आएको दाबी गरेको छ ।

युइएफए अहिले यो मुद्दामा मुछिएका सिटीका हरेक पदाधिकारीमाथि छुट्टाछुट्टै अनुशासनको कारबाही पनि अगाडि बढाउने वा क्लबलाई मात्र एफएफपी उल्लंघन गरेको अनुसन्धान गर्ने भन्ने विषयमा विचाराधीन छ । युइएएफका लागि सबैभन्दा ठूलो चुनौति सिटीलाई कसरी अबुधाबीमा रहेका उसको प्रायोजक कम्पनी र प्रायोजनको विवादमा मुछिएका अन्य कम्पनीको वास्तविक जानकारी दिन बाध्य बनाउने भन्ने हो ।

केही महिनाअघि सिटीले एक विज्ञप्ति जारी गर्दै भनेको थियो– ‘निराधार रुपमा र सिटी फुटबल ग्रुपको डाटाबेस ह्याक गरेर जेजति सामाग्री बाहिर ल्याइएका छन्, ती विषयमा क्लब कुनै प्रतिक्रिया जनाउन चाहँदैन । यो सांगठनिक रुपमा योजनाबद्ध तवरले क्लबको प्रतिष्ठामा आँच ल्याउन रचिएको षड्यन्त्र हो ।’