इंग्लिस प्रिमियर लिगको सबैभन्दा ठूलो डर्बी भिडन्त म्याचेस्टर डर्बी बराबरीमा सकिएको छ । म्यान्चेस्टरका दुई क्लब म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडबीच शनिबार राति ओल्डट्राफोर्डमा भएको खेल गोल रहित बराबरीमा सकिएको हो ।
युनाटेडको मैदानमा भएको खेलमा दबाब भने सिटीले बनाएको थियो । सिटीले खेलमा ५६ प्रतिशत बल पोजेसन बनाएको थियो । उसल युनाइटेडको पोस्टमा ९ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो । यता, युनाइटेडले ११ सट प्रहार गर्दा २ सट फ्रेममा थियो ।
११ खेलमा २० अंक जोडेको युनाइटेड ८औं स्थानमा छ भने समान खेलका १९ अंक जोडेको सिटी ९औं स्थानमा छ ।

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा एस्टन भिल्ला विजयी भएको छ । भिल्लाले वुल्भ्सलाई उसकै मैदानमा १–०ले हरायो । भिल्लाको जितमा दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा अनवर एल गाजीले निर्णायक गोल गरे । वुल्भ्सका नेल्सन सेमेडोले जोन म्याकगिनलाई लडाएपछि प्राप्त पेनाल्टीमा गाजीले गोल गरेका थिए ।
खेलको अन्त्य दुवै टिमले १० खेलाडीमा रहेर गरे । ८५औं मिनेटमा भिल्लाका डग्लस लुइस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए भने इन्जुरी समयको पाचौं मिनेटमा वुल्भ्सका जोआ माउटिन्होले पनि दोहोरो पहेँलो कार्ड पाए । जितपछि १८ अंक जोडेको भिल्ला १०औं स्थानमा छ भने १७ अंक जोेडेको वुल्भ्स १२औं स्थानमा छ ।