म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबा राति फुलहममाथि ३–१को पुनरामगन जित निकाल्दै युनाइटेड सेमिफाइनलमा पुगेको हो।
फुलहमले सुरुआती अग्रता लिए पनि दुई खेलाडीले रातो कार्ड पाएपछि ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो । जसको फाइदा युनाइटेडले उठायो र अन्तिम १५ मिनेटमै तीन गोल गर्यो ।
युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा खेलको ५०औं मिनेटमा एलेक्सान्डर मिट्रोभिचले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । खेलको ७२औं मिनेटमा विलियन र मिट्रोभिचले रातो कार्ड पाएपछि फुलहम ९ खेलाडीमा समेटियो । यस्तै, प्रशिक्षक मार्को सिल्भाले पनि रातो कार्ड पाएका थिए।
जाडोन सान्चोको प्रहार गोल लाइनमा विलियनले हातले रोकेपछि रेफ्रिले उनलाई रातोकार्ड देखाएका थिए। त्यसपछि रेफ्रीसँग प्रतिबाद्ध गर्दा रेफ्रीलाई धकेलेपछि मेट्रेभिचले पनि रातोकार्ड पाए । त्यसको कडाप्रतिवाद गरेपछि सिल्भालाई पनि रेफ्रीले रातो कार्ड देखाए।
७५औं मिनेटमा युनाईटेडका ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि युनाइटेडका लागि ७७औं मिनेटमा मार्सल सबिट्जर र इन्जुरी टाइममा ब्रुनोले व्यक्तिगत दोस्रो गोल गरे ।
वेम्बलीमा हुने सेमिफाइनलमा युनाइटेडले अब ब्राइटनको सामना गर्नेछ । अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटी र सेफिल्ड युनाइटेड भिड्ने छन् ।