राेनाल्डाेकाे गाेलमा एट्लान्टाविरुद्ध म्यान्चेस्टर युनाइटेडको उत्कृष्ट पुनरागमन जित

च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले उत्कृष्ट पुनरागमन जित निकालेको छ। बुधबार राति भएको खेलमा एट्लान्टाविरुद्ध २ गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटडले ३–२को रोञ्चक जित निकाल्यो।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन मार्कस रोस्फोर्ड, ह्यारी मग्वायर र क्रिस्टियानो रोनाल्डोले गोल गरे। एट्लान्टाका मारियो पासालिच र मेरिह डेमिरालले गोल गरेका थिए।

१५ औं मिनेटमा पासलीचले गोल गर्दै एट्लान्टालाई अग्रता दिलाए। उनले डेविड जापाकोस्टाको पासमा गोल गरेका थिए। २९औं मिनेटमा डेमिरालले गोल गर्दै एटलान्टाको अग्रता दोब्बर बनाए। उनले तेउन कोपमिनार्सको कर्नरमा हेड गोल गरेका थिए।

पहिलो हाफमा २ गोलले पछि परेको युनाइटडेले दोस्रो हाफमा ३ गोल गर्दै जित निकाल्यो । ५३ औं मिनेटमा मार्कस रासफर्डले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै युनाइटेडलाई २–१मा ल्याए। ७५ औं मिनेटमा ह्यारी मगाएरले बराबरी गोल फर्काए। उनले पनि फर्नाडेसकै पासमा गोल गरेका थिए

८१ औं मिनेटमा रोनाल्डोले हेडरमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। उनले लुक शाको क्रसमा गोल गरेका थिए। त्यसपछि थप गोल हुन नसक्दा युनाइटेडले जित दर्ता गर्यो।

समूह एफकै अर्को खेलमा भिल्लारियलले योङ बोइज क्लबलाई ४–१ ले पराजित गरेको छ । टोलीको जितमा येरेमी पिनो, जेरार्ड मोरेनो, अल्बर्टो मोरेनो र स्याम चुकेवेजेले १–१ गोल गरे भने योङ बोइजका एलियाले गोल गरेका थिए।

जितसँगै युनाइटेड समूहको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ। उसको ३ खेलमा ६ अंक छ । एटलान्टा र भिल्लारियलको समान ४–४ अंक छ भने पुछारको योङ बोइजको ३ अंक छ।