ब्राजिलियन लेफ्टब्याक मार्सेलो स्पेनिस क्लब रियल मड्रिडमै रहने भएका छन्। उनी आगामी सिजनको अन्त्यसम्म रियलमै रहने छन्।
अघिल्लो सिजन कमै मात्र अवसर पाएका मार्सेलोले यो सिजन क्लब छाड्नो चर्चा थियो । तर, उनी आफ्नो सम्झौता अवधिसम्म रियलमै रहने छन्। उनको सम्झौता सन् २०२२को जुन सम्म छ।
प्रशिक्षक कार्लो एन्सेलोटीका कारण पनि उनी रियलमै रहने भएका हुन्। प्रशिक्षक एन्सेलोटीको प्रशिक्षणमा मार्सेलोले २०१४–१५ को सिजनमा ५३ खेलमा अवसर पाएका थिए।
नियमित कप्तान सर्जियो रामोसले रियल छाडेपछि मार्सेलो आगामी सिजन रियलको कप्तान बन्ने छन्। यद्यपि, पछिल्लो समय चोट र कमजोर प्रदर्शनका कारण अहिले उनको स्थानमा फर्लान्ड मेन्डीसँगै क्यास्टिलाका मिगेल गुइटेरेज आएका छन्।
मार्सेलो सन् २००६ मा ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट रियलमा अनुबन्ध भएका थिए। त्यसयता उनले रियलका लागि ५२८ खेल खेल्दै ३५ गोल गरेका छन्। उनले रियलबाट ५ ला लिगा र ४ च्याम्पियन्स लिगसहिन २२ उपाधि जितेका छन्।