डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजले युएई र ओमानमा जारी टि–२० विश्वकपमा खराब प्रदर्शन गरेको छ। सुपर १२को पहिलो खेलमा इंग्ल्यान्डसँग १० विकेटले पराजित भएको वेस्टइन्डिज दोस्रो खेलमा मंगलबार दक्षिण अफ्रिकासँग ८ विकेटले पराजित भयो ।
दुबईमा वेस्टइन्डिजले दिएको १४५ रनको मध्यम लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा २ विकेटको गुमाउँदै भेट्टायो । दक्षिण अफ्रिकालाई सहज जित दिलाउने क्रममा एइडेन मार्क्रम विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २६ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ५१ रन बनाए ।
यस्तै, रस्सी भान डेर डुसानले ५१ बलमा ४३ रन बनाउँदा रिजा हेन्ड्रिक्सले ३० बलमा ३० रन बनाए । हेन्ड्रिक्स र भान डेर डुसानले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि भान डेर डुसान र माक्र्रमले ८३ रनको साझेदारी गरे । वेस्टइन्डिजका अकेल हुसैनले १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले राम्रो सुरुआत गरेपछि राम्रो योगफल बनाउन सकेन । उसले २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । इभान लेविस र लिन्डेल सिमोन्सले पहिलो विकटका लागि ७३ रनको साझेदारी गर्दै वेस्टइन्डिजलाई राम्रो सुरुआत दिलाएका थिए ।
लेविसले ३५ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ५६ रन बनाउँदा कप्तान किरेन पोलार्डले २६ तथा लिन्डेल सिमोन्सले १६ रनको योगदान दिए । वेस्टइन्डिजलाई सस्तैमा रोक्ने क्रममा ड्वायन प्याट्रियसले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए भने केशव महाराजले २ विकेट लिए।