रियल मड्रिडका मिडफिल्डर ओडेगार्ड आर्सनलमा

लण्डन क्लब आर्सनलले रियल मड्रिडका क्रिएटिभ मिडफिल्डर मार्टिन ओडेगार्डलाई अनुबन्ध गरेको छ। २२ वर्षीय नर्वेजियन मिडफिल्डरलाई आर्सनलले ३५ मिलियन युरोमा अनुबन्ध गरेको हो।

आडेगार्डले अघिल्लो सिजनको आधा समय आर्सनलबाटै खेलेका थिए। मिड–सिजनपछि लोनमा आर्सनल आएका ओडेगार्डले लण्डन क्लबका लागि २० खेल खेलेका थिए।

ओडेगार्डले नर्वेको स्ट्रेस्गडसेटबाट करियर सुरु गरेका थिए। अप्रिल २०१४ मा डेब्यु गर्दै उनी नर्वेको शीर्ष डिभिजन खेल्ने सबैभन्दा कान्छो खेलाडी पनि बनेका थिए।

नर्वेमा उत्कृष्ट प्रदर्शन गरेपछि जनवरी २०१५ मा रियल मड्रिडले उनलाई अनुबन्ध गरेको थियो। मे २०१५ मा डेब्यु गर्दै उनी रियलको पनि सबैभन्दा कान्छो खेलाडी बनेका थिए।

त्यसपछिका तीन सिजन भने उनले लोनमा बिताए। २०१७/१८ देखि २०१९/२० को सिजन उनले क्रमशः नेदरल्यान्ड्सको हिरेनभीन, भिटेसी आर्नहेम र स्पेनको रियल सोसिडाडबाट खेले। उनले उत्कृष्ट प्रदर्शन गर्दै सोसिडाडलाइए कोपा डेल रेको फाइनलसम्म पुर्याएका थिए।

उनले नर्वेका लागि ३० खेल खेलेका छन्। अगस्ट २०१४ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका आडेगार्ड १५ वर्ष २५३ दिनको उमेरमा डेब्यु गर्दै सिनियर टिमबाट देशको प्रतिनिधित्व गर्ने सबैभन्दा कम उमेरको खेलाडी बनेका थिए।

ओडेगार्डले आर्सनलमा ८ नम्बरको जर्सी लगाउने छन्। मेसुट ओजिलले क्लब छाडेपछि आर्सनल मिडफिल्डमा संघर्ष गरिरहेको थियो। ओडेगार्डले आर्सनलको मिडफिल्डमा लामो समयदेखि देखिएको क्रिएटिभिटीको खडेरी अन्त्य गर्ने विश्वास क्लबका म्यानेजर मिकेल आर्टेटाले गरेका छन्।

भिसालगायत केही कागजात मिलाउने काम बाँकी नै रहेकाले उनले आइतबार हुने चेल्सीविरुद्धको प्रिमियर लिगको डर्बी भिडन्त भने गुमाउने क्लबले जनाएको छ।