भारत र इंग्ल्यान्डबीचको टेस्टमा मौसम बाधक

जेम्स एन्डरसनको बलिङ मद्दतमा इंग्ल्यान्डले बिहीबार भारतविरुद्धको पहिलो टेस्टको दोस्रो दिन खेलमा फर्कने प्रयास गरे पनि मौसमले अवरोध गरेको छ । खराब मौसमका कारण खेल पूरा दिन चल्न सकेन ।

एन्डरसनले दुई बलमा दुई विकेट लिए । त्यसमा भारतीय कप्तान विराट कोहली पनि रहे । कोहली गोल्डेन डकको सिकार हुँदा भारतले १५ रनको अन्तरमा चार विकेट गुमाएको थियो ।

त्यस क्रममा बिना विकेट क्षति ९७ रनको स्थितिमा रहेको भारत चार विकेट गुमाएर १ सय २४ रनको अवस्थामा पुगेको थियो । खराब प्रकाशका कारण खेल रोकिनुअगाडि भारतले चार विकेटमा १ सय २५ रन बनाएको छ । यो ५८ रनले पछाडि रहेको स्थिति हो ।

भारतका लागि केएल राहुल अर्धशतक बनाएर क्रिजमा छन् । उनलाई ऋषव पन्तले साथ दिइरहेका छन् । राहुलले १५१ बल खेल्दै ५७ रन बनाएका छन् भने पन्तले ७ रनमा नटआउट छन् । यस्तै, रोहित शर्मा ३७ रन बनाएर आउट भए।

यसअघि इंग्ल्यान्डले पहिलो इनिङमा १८३ रन बनाएको थियो । उसका लागि कप्तान जो रुटले सर्वाधिक ६४ रन बनाए भने ज्याक कावर्ली र साम करनले समान २७ रन बनाए । भारतका जस्प्रित बुमराहले ४, मोहम्मद सामीले ३ र शार्दुल ठाकुरले २ विकेट लिए।