अर्जेन्टाइन स्ट्राइकर माउरो इकार्डीले उत्कृष्ट प्रदर्शन गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । आइतबार राति भएको खेलमा इकार्डीले २ गोल गरेपछि फ्रेन्च लिग वानमा पिएसजीले रिम्सलाई २–०ले हरायो ।
इकार्डीले दुवै हाफमा समान १ गोल गरे । उनले पहिलो हाफको नवौं मिनेटमा किलियन एम्बप्पेको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६२औं मिनेटमा इकार्डीले पिएसजीको अग्रता दोब्बर बनाए । यो गोल पनि उनले एम्बप्पेकै पासमा गरेका थिए ।
खेलमा पिएसजीले ६५ प्रतिशत बल पोजेसन बनाउँदै रेइम्सको पोस्टमा २१ सट प्रहार गरेको थियो । जसमा ७ सट फ्रेममा थियो । यता, रेइम्सले ८ सट प्रहार गरेकोमा तीन सट फ्रेममा थियो । खेलमा एिसजीले ६७६ पास खेलेको थियो भने रेइम्सले ३७० पास मात्र खेलेको थियो ।
पिएसजीको यो लगातार तेस्रो जित हो । यी तीनै जितमा पिएसजीले क्लिनसिट राख्न सफल भयो । लिगको सुरुवाती दुई खेलमा पराजित भएको पिएसजीको ५ खेलमा ९ अंक भएको छ ।
रिम्सको यो चौंथो हार हो । उसनले ५ खेलमा १ अंकमात्र जोडेको छ ।