पेनाल्टी मिस गरेपछि एम्बाप्पेलाई पेलेको सन्देश

जारी युरोकप जित्ने दाबेदार राष्ट्रमध्येमा पथ्र्यो, फ्रान्स। तर अन्तिम १६ कै भिडन्तमा पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डसँग ५–४ ले पराजित गर्दै विश्वविजेता फ्रान्स घर फर्किएको छ। र, फ्रान्सले मिस गरेको पेनाल्टी मिस गरेका थिए युवा सुपरस्टार किलियन एम्बाप्पेले।

बुकारेस्टमा भएको खेलमा निर्धारित समयको खेल ३–३ गोलको सनसनीपूर्ण बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। फ्रान्सका लागि पाँचौं पेनाल्टी प्रहार गर्न एम्बाप्पे आए, तर उनको पेनाल्टी स्विट्जरल्यान्डका गोलकिपरले सहजै बचाइदिए।

युरोकपमा सबैभन्दा आशा गरिएका खेलाडी थिए, एम्बाप्पे। तर, उनी एक गोल पनि नगरि आफ्नै गल्तीमा पहिलो नकआउट खेलबाटै घर फर्किएका छन्।

यो पनि पढ्नुहोस्ः ‘एम्बाप्पेको इगोका कारण फ्रान्सले युरोकप जित्न सक्दैन’

पेनाल्टी मिस गरेका कारण एम्बाप्पेको अधिकांशले आलोचना गरेका छन् भने केहीले उनलाई सहानुभूति प्रदान गरिरहेका छन्। फुटबलका सर्वश्रेष्ठ खेलाडी मानिने ब्राजिलका पेलेले भने एम्बाप्पेको हौसला बढाउन सन्देश पठाएका छन्। उनले ट्विटरमार्फत् एम्बाप्पेलाई सन्देश दिएका हुन्।

‘आफ्नो शीर ठाडो राख, किलियन! भोली तिम्रो नयाँ यात्राको पहिलो दिन हो।,’ पेलेले लेखेका छन्।

एम्बाप्पे र पेले गत विश्वकप २०१८ देखि नजिकिएका हुन्। एम्बाप्पेले विश्वकपमा पेरुविरुद्ध गोल गर्दै विश्वकपमा गोल गर्ने फ्रान्सका सबैभन्दा कान्छा खेलाडी बनेका थिए भने विश्वका दशौं कान्छा खेलाडी बने। सो कीर्तिमान १७ वर्ष ७ महिना २७ दिनमा गोल गरेका पेलेको नाममा रहेको छ।

यो पनि पढ्नुहोस्ः यी हुन्, विश्वकपमा गोल गर्ने कान्छा खेलाडी

यस्तै, एम्बाप्पेले अर्जेन्टिनाविरुद्ध २ गोल गर्दै पेलेको नाममा रहेको ‘विश्वकपमा दुई गोल गर्ने टिनएजर’को रेकर्ड बराबरी गरेका थिए। फ्रान्सले विश्वकप जितेपछि एम्बाप्पेले ‘फिफा वल्र्डकप बेस्ट योङ प्लेयर अवार्ड’ पनि जितेका थिए। पेलेले पनि उत्कृष्ट युवा खेलाडीका रुपमा सो अवार्ड जितेका थिए।

एम्बाप्पेले सो अवार्ड पाएपछि पेलेले ‘वेलकम टु द क्लब’ भन्दै बधाई दिएका थिए। त्यसयता उनीहरुको सम्बन्ध राम्रो रहँदै आएको छ। फ्रान्सलाई युरोकप जिताउने अपेक्षा गरिएका एम्बाप्पले आफ्नै गल्तीमा फ्रान्स बाहिरिनु पर्दा निराश भएका थिए। यस्तो अवस्थामा पेलेको सन्देशले उनलाई केही राहत दिनेछ।

यो पनि पढ्नुहोस्ः युरोकपमा चल्न नसकेका पाँच स्टार खेलाडी

Facebook Comments Box