एमसीसीसँग ३८ रनले पराजित भयो यु–१९ नेपाली टिम

इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लबसँग पहिलो खेलमा नेपाली यु–१९ क्रिकेट टिम पराजित भएको छ । एमसिसीले दिएको ३ सय ३५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा निर्धारित ५० ओभरको खेलमा नेपालको यु–१९ टिमले ३८ रनले पराजय भएको हो ।

निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै नेपालले २९६ रन बनायो । नेपाली युवा टिमका लागि ओपनर तथा कप्तान रित गौतमले ४५ रनको योगदान दिए भने हरि चौहानले सर्वाधिक ५२ रन बटुले । आकास चन्द र अरुण ऐरीले ३०–३० रन बनाए ।

त्यस्तै खडक बोहरा २५, लोकेश बम १४, विशाल केसीले १३, कुशल मल्ल ६ र प्रतिश जिसीले ४ रन बनाएका थिए । शेर मल्ल २८ तथा सागर ढकाल १ रनमा नट आउट रहे । विस्फोटक सुरुआत गरेको नेपालले १५ ओभरमै एक सय रन पार गरिसकेको थियो ।

बलिङमा एमसिसीका क्रिस राइटले ३ विकेट लिए । टम विस्ली र माइल हमुदले २–२ विकेट लिए । नेपालका लागि शेर मल्ल र सागर ढकालले २–२ विकेट लिए ।

नेपालको सिनियर टिमविरुद्ध हुने तीनदिवसीय खेललाई पहिलो श्रेणीको मान्यता दिइएको छ । २ साता नेपालमा रहने एमसिसीले नेपालसँग टि–२०, एकदिवसीय र तीन दिवसीय गरी ६ खेल खेल्ने कार्यक्रम छ ।