मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर नेपालले शनिबार सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान पक्का गरेको छ । नेपाल एपिएफ क्लबलाई २–१ ले हराउँदै काँकडभिट्टा अन्तिम चारमा पुगेको हो ।
काँकडभिट्टाले फाइनल प्रवेशका लागि थ्री स्टार र च्यासल क्लबबीचको खेलको विजेतासँग खेल्नेछ । टोलीलाई अन्तिम चारमा पुर्याउने क्रममा काँकडभिट्टाका विश्वास श्रेष्ठ र विकास राईले गोल गरे ।
धनगढी रंगशालामा भएके खेलमा नवौं मिनेटमा एपिएफले सुरुवाती अग्रता लियो । एपिएफका लागि युवराज खड्काले गोल गरेका थिए । तर, एपिएफले आफ्नो अग्रता अन्तिमसम्म रक्षा गर्न सकेन । मध्यान्तर हुनुभन्दा पाँच मिनेटअघि काँकडभिट्टाले खेललाई बराबरीमा ल्यायो । काँकडभिट्टाका विश्वासले ४० औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
दोस्रो हाफमा फितलो प्रदर्शन गरेको एपिएफविरुद्ध काँकडभिट्टाले थुप्रै मौका खेर फालेको थियो । खेलको ८७औं मिनेटमा काँकडभिट्टाले २–१ को अग्रता लियो । कर्नरमा आएको बल रिबाउन्डमा विकासले गोल गरेका थिए ।
काँकडभिट्टाका प्रशिक्षक कर्ण थापाले एपिएफविरुद्ध पहिलो हाफमा सोचेजस्तो प्रदर्शन नभएको बताएका छन् । ‘हामीले मध्यान्तरमा जुन किसिमको रणनीति बनाएका थियौँ, त्यसअनुरूप खेल भएन,’ काँकडभिट्टाका प्रशिक्षक थापाले भने, ‘बराबरी गोल भएपछि खेलाडीहरूको मनोबल उच्च भयो ।’ सेमिफाइनलमा ए डिभिजनकै राम्रा क्लबविरुद्ध खेल्दा संयमित भएर प्रतिस्पर्धा गर्नुपर्ने बताए ।