विश्वचर्चित फ्रेन्चाइज लिग बिग बासमा दोस्रो सिजन बिताइरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछाने पहिलो पटक विकेटबिहीन बनेका छन् । सन्दीप विकेटबिहीन बनेपनि होबर्ट हुरिकेन्सविरुद्धको खेल मेलबर्नले डक वर्थ लेविस नियमका आधारमा ४ रनको जित निकालेको छ ।
वर्षाले प्रभावित भएको होबर्ट हुरिकेन्सविरुद्ध सन्दीपले उत्कृष्ट बलिङ गरेपनि विकेट लिन सकेनन् । वर्षाले प्रभावित भएपछि ११ ओभरमा छोट्याइएको खेलमा सन्दीपले २ ओभरमा ११ रन खर्चिए ।
मेलबर्न स्टार्सबाट लगातार दोस्रो सिजन बिग बास लिग खेलिरहेका सन्दीपले यसअघिका ३ वटै खेलमा विकेट लिएका थिए । उनले पहिलो ब्रिस्बर्न हेटविरुद्ध ३८ रन खर्चेर १ विकेट लिएका थिए भने दोस्रो खेलमा होबर्टविरुद्ध नै १९ रन खर्चेर १ र एडिलेड स्ट्राइकर्स १५ रन खर्चेर एक विकेट लिएका थिए ।
सोमबार भएको खेलमा मेलबर्नले टस जितेर फिल्डिङ रोजेपछि होबर्टले पहिला ब्याटिङ गरेको थियो । तर, खेल वर्षाले पटक पटक रोकियो । पाचौं ओभरको खेलसकिए लगत्तै वर्षाले खेल रोकियो । त्यसपछि खेल १८ ओभरमा झारिएको थियो ।
९.४ ओभरको खेल चलिरहँदा पुनः वर्षा भएपछि खेल १५ ओभरमा झारियो । ११ ओभर सकिए लगत्तै पुनः वर्ष भएपछि खेल ११ ओभरमै छोट्यायो । वर्षाले ११ ओभरमा रोकिँदा होबर्टले ५ विकेटको क्षतिमा ६९ रन बनाएको थियो । डिएल मेथर्डका आधारमा मेलबर्नले ८० रनको लक्ष्य पायो ।
होबर्टका लागि क्यालेब जेवेलले २७ रन बनाए भने बेन म्याक्डोरमेटले १७ र सिमन मिलेन्कोले १२ रन बनाए । मेलबर्नका लागि नाथन कुल्टर नाइल र डेल स्टेनले समान २ विकेट लिए ।
८० रनको लक्ष्य पछ्याएको मेलबर्नले ७.३ ओभरमा ३ विकेटको क्षतिमा ५५ रन बनाउँदा वर्षाले पुनः खेल रोकिएपछि डिएल मेथर्डका आधारमा मेलबर्न ४ रनले विजयी भयो । मेलर्बनका लागि मार्कस स्टोइनिसले सर्वाधिक २५ रन बनाए भने पिटर ह्यान्डसकोम्बले २२ रन बनाए । होबर्टका जेम्स फउल्कनरले २ तथा रिलेइ मेरेडिथले १ विकेट लिए ।
यो मेलबर्नको तेस्रो जित हो । योसँगै मेलबर्न ६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । ४ खेलमा ७ अंक जोडेका एडिलेड स्ट्राइकर शीर्ष स्थानमा छ भने ६ अंक जोडेको सिड्नी सिक्सर्स तेस्रो, ५ अंक जोडेको सिड्नी थन्डर चौथो र ४ अंक जोडेको होबर्ट पाचौं स्थानमा छ ।
मेलबर्नले पहिलो ब्रिस्बन हेटलाई २२ रनले हराउँदा होबर्टलाई ५२ रनले पराजित गरेको थियो । तेस्रो खेलमा एडिलेड स्ट्राइकर्ससँग भने मेलबर्न ५ रनले पराजित भएको थियो । पाचौं खेल मेलबर्नले बिहीबार सिड्नी थन्डरसँग खेल्ने छ ।