अर्जेन्टिनी कप्तान लियोनल मेसीले ग्याब्रिअल बाटिस्टुटाको कीर्तिमान तोडेका छन्। कतार विश्वकपको सेमिफाइनलमा क्रोएसियाविरुद्ध गोल गर्दै मेसीले बाटिस्टुटाको कीर्तिमान तोडेका हुन्।
पाँच विश्वकपमा खेल्दै कुल ११ गोल गरेका मेसी अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। बाटिस्टुटाले १० गोल गरेका थिए।
मेसीले क्रोएसियाविरुद्ध ३३औं मिनेटमा गोल गरेका थिए। क्रोएसियन किपरले जुलियन अल्भारेजलाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। तर, यो विवादास्पद बनेको छ।
यो गोलसँगै मेसी गोल्डेन बुटको रेसमा पनि अगाडि आएको छ। उनले कुल पाँच गोल गरेका छन् । र, गोल्डेन बुटको रेसमा रहेका किलियन एम्बाप्पेसँग गोल संख्या बराबर गरेका छन्।
क्रोएसियाविरुद्धको यही खेलमार्फत मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्न जर्मनीका लोथर म्याथुसको कीर्तिमान पनि बराबरी गरेका छन्। दुवैले विश्वकपमा २५ खेल खेलेका छन्।