लियोनल मेसीले आज (आइतबार) बार्सिलोना छाडेको घोषणा गरे। पत्रकार सम्मेलन गर्दै बार्साबाट विदा मागेका मेसीले कार्यक्रमभर आँसु थाम्न सकेनन्।
मेसीले आफुलाई बार्साको अत्यन्त माया लाग्ने बताउँदै बार्सा छाड्न मन नभएको बताएका थिए। बार्सा छाडेको घोषणा गर्ने कार्यक्रममा बार्सा छाड्न मन नभएको बताउँदा उनले आँसु थाम्न सकेनन्।
कार्यक्रममा उपस्थित दर्शक तथा पत्रकारहरुले उनलाई स्टेन्डिङ ओवेसन दिएका थिए। निकै लामो स्टेन्डिङ ओवेसन पाएका मेसी स्टेजमै भक्कानिएका थिए।
केही दिनअघि बार्साले मेसी अब क्लबमा नरहने घोषणा गरेसँगै उनलाई आबद्ध गर्न चाहने क्लबहरुको लर्को लागेको थियो। मेसीले पनि कार्यक्रममा बोल्दै धेरैतिरबाट प्रस्ताव आइरहेको बताए।
तर, उनी आगामी सिजन पिएसजीमा आबद्ध हुने पक्का भइसकेको छ। खेलकुदको निकै चर्चित तथा प्रतिष्ठित समाचार संस्था इएसपीएनले मेसी पिएसजी जाने पक्का भइसकेको जनाएको छ।
मेसीले आज राति वा भोलि पिएसजीमा मेडिकल गर्नेछन्। त्यसपछि केही दिनमा पिएसजीले मेसीलाई अनुबन्ध गरेको आधिकारिक घोषणा गर्ने पनि इएसपीएनले बताएको छ।
मेसीको स्वागतका लागि पिएसजीले आइफिल टावर नै बुक गरिसकेको छ। अगस्ट १० तारिखका लागि पिएसजीले आइफिल टावर बुक गरेको जानकारी आएको छ।
पिएसजी आइफिल टावरमा झलमल बत्ती बाल्दै मेसी आएको घोषणा गर्ने योजनामा छ। यसअघि बार्साबाट नेयमारलाई अनुबन्ध गर्दा पनि पिएसजीले आइफिल टावरबाटै उनको स्वागत गरेको थियो।
मेसीको स्वागत त्योभन्दा पनि भव्य हुने धेरैले अड्कल गरेका छन्।
यो पनि पढ्नुहोस्ः
‘मलाई बार्साको असाध्यै माया लाग्छ’ भन्दै स्टेजमा रोए मेसी